१६ बैशाख २०८१, आईतवार
भ्रष्टाचार विरुद्ध छिट्टै ठुला एक्सन हुँदैछन् : प्रचण्ड


काठमाडौं/प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयमभित्रै भ्रष्टाचारविरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९औँ साधारण सभा एवं २१औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘१० वर्षे जनयुद्धमा को कति वेला मारिने हो अत्तोपत्तो नहुने गरी जसरी हाम फालेका थियौँ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथितिविरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौँ। हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन। जसरी विचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौँ, त्यसैगरी अहिले पनि हामी त्यहि संकल्पका साथ लागेका छौँ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौँ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा साथ दिने दाबी गरे। उनले भने, ‘जसरी १० वर्षे जनयुद्धमा लाखौँ करोडौँ जनताको साथ पाएका थियौँ, त्यसैगरी अब पनि हामी साथ पाउनेछौँ। अहिले नदेखिएको मात्रै हो, केहि समयभित्रै ठुलाठुला एक्सन हुनेछन्।’

प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने उल्लेख गरे। उनले भने, ‘संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ। यो कम्युनिष्टको सभा रहेनछ। विचारले होइन, संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ। देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन्।’

नेतृत्वमा आएदेखि आफूहरुलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफूहरु त्यस्ता घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्रीको भनाइ छ।

Nabintech