२१ बैशाख २०८१, शुक्रबार
आधारभुत तहको नतिजा प्रकाशनका क्रममा शिक्षा शाखाको गम्भिर कमजोरी 


कोहलपुर नगरपालिकाको आधारभुत तह कक्षा ८ को नतिजा प्रकाशनका क्रममा शिक्षा शाखाको गम्भिर कमजोरी भएको तथ्य फेला परेको छ । कोहलपुर नगर पालिकाले गठन नतिजा छानबिन समितिले तयार पारेको प्रतिवेदनमा गम्भिर खाले कमजोरी फेला परेको श्रोतले जानकारी दिएको छ ।

छानबिन समितले तयार पारेको प्रतिवेदन शुक्रवार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य लाई बुझाएको छ । विश्वस्त श्रोतले दिएको जानकारी अनुसार  शिक्षा शाखाको गम्भिर कमजोरी फेला परेको हो । शिक्षा शाखाले उत्तर पुस्तिका जाँचका क्रममा शिक्षकहरूको रोष्टर नबनाई भद्रगोल तवरले उत्तर पुस्तिका जाँच गरेको , सामुदायिक भन्दा संस्थागत विद्यालयका शिक्षकहरू लाई अत्याधिक मात्रामा उत्तर पुस्तिका जाँचमा लगाइएको , जाँच भएको पुस्तिकाका नम्बर ईन्टी गर्दा गम्भिर लापरवाही गरेको भेटिएको श्रोतले बतायो ।

उत्तर पुस्तिका जाँच लगतै १० प्रतिशत पुस्तिका तत्काल सम्परीक्षण गर्नु पर्नेमा त्यसो नगरिएको पाइएको  छ । साथै सामाजिक विषयको प्रश्न पत्र निर्माणका क्रममा समेत केही कमजोरी भएको विज्ञहरूले राय दिएको छ । छानबिन समितिले प्रश्नपत्र निर्माण देखी उत्तर पुस्तिका जाँच , नतिजा प्रकाशन र उत्तर पुस्तिका परिक्षण र सम्परीक्षण गरेको थियो । सो क्रममा कमजोरी गरेका आशंकित र जिम्मेवार अधिकारी सँग बयान समेत लिइएको ति सदस्यले जानकारी दिए । उत्तर पुस्तिका परिक्षण का क्रममा केही विद्यार्थी पास भएका लाई फेल बनाइएको र फेल भएका विद्यार्थी लाई पास गराइएको तथ्य भेटिएको छ । केही मानवीय  र केही नियतबस यस्तो भएको पाइएकाले आवश्यक कार्यवाहीको सिफारिस गरिएको छ ।

छानबिन समितिका संयोजक बिरेन्द्र शाहले १० वटा उजुरी परेका विद्यालयको सम्पूर्ण उत्तर पुस्तिका जाँच गर्दा एक विद्यालयको मात्र गम्भिर गल्ती फेला परेको जानकारी दिए । नतिजा हेरफेर गर्न विद्यालयको समेत संलग्नताको आशंका रहेकाले उक्त विद्यालयका सञ्चालक लाई पनि छानबिनको दायरामा ल्याइएको शाहको भनाई छ । उक्त विद्यालयले केही विद्यार्थीको उत्तर पुस्तिका साटफेर गरेका प्रमाणहरू समेत फेला परेको श्रोतको दाबी छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले छानबिन समितिको प्रतिवेदन प्राप्त भएकाले आइतबार या सोमवार कार्यपालिका बैठक बसेर अनुमोदन गरेर कार्यवाही प्रक्रिया अगाडि बढ्ने बताए । उनले कतिपय विषयमा थप अनुसन्धान गर्नु पर्ने भएको प्रतिवेदन हु बहु सार्वजनिक गर्न कठिनाइ हुन सक्ने धारणा राखे । छानबिन समितिको प्रतिवेदन अनुसार कार्यवाही र आगामी दिनमा अपनाउनु पर्ने सजगता बारे नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिए ।

Nabintech