१७ बैशाख २०८१, सोमबार
परीक्षामा गलत गर्ने लाई कार्यवाही गर्ने नगर प्रमुख आचार्यको प्रतिबद्धता 


कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले आधारभुत तहको परीक्षाका क्रममा गलत गर्ने लाई कार्यवाही गर्ने प्रतिबद्धता दोहर्याएका छन ।

कोहलपुर नगर पालिकाको आयोजनामा भएको सर्वदलीय सर्वपक्षीय छलफलका क्रममा मेयर आचार्यले आफू शिक्षा क्षेत्र सुधारमा लागेको बताउँदै गलत गर्ने लाई कार्यवाही गरेरै छाड्ने बताए । ७ दिन भित्र छानबिनले पूर्णता पाउने भन्दै समितिको सिफारिसका आधारमा कार्यवाही गरिने उनको भनाई थियो । आधारभुत तहको नतिजा प्रकाशन लगतै आएका गुनासोका आधारमा छानबिन समिति निर्माणगरि काम भई रहेको उनको भनाई छ ।

ठुलो चुनौति मोलेर आफूले शिक्षा सुधारका काम सुरु गरेको बताउँदै यसमा साथ दिन राजनैतिक दल , नागरिक समाज लगायत सबै सँग उनले अपिल गरे । सुधारका काम सुरु गर्दा थुप्रो खाले चुनौतीहरू आई लागेको भन्दै उनले कसैको उक्साहटमा भन्दा तथ्यमा आधारित भएर विरोध वा सर्मथन गर्न आग्रह गरे ।

विद्यार्थीले पढ्ने वातावरण बनाउन खोज्दा र शिक्षा क्षेत्र वास्तविक अवस्था देखाएर आगाडि बढ्ने आधारहरू तयार गर्नै लाग्दा घेराबन्दी गर्न खोजिएको उनको भनाई छ । परीक्षाको नतिजा प्रकाशनमा गलत भएको गुनासो लगतै आफूले तत्काल परीक्षा सँग सम्बन्धी कागजात नियन्त्रणमा लिएर छानबिन गर्न लागेको भन्दै अव छानबिन  समितिको प्रतिवेदन नआउँदा सम्म सहयोग गर्न उनले आग्रह गरे । सर्व पक्षीय छलफलमा मिश्रित खाले आवाजहरू आएका थिए । कतिपयले नतिजाको विषयमा नगरपालिका आफ्नो तरिकाले छानबिनमा आगाडि बढेकाले सहयोग गर्नुपर्ने धारणा राखेका थिए भने नेकपा एमाले लगायतका राजनैतिक दलले अर्को छानबिन समिति निर्माण गर्न माग गरेको थियो ।

यस अघिका परीक्षामा परीक्षा केन्द्र चयन , केन्द्राध्यक्ष चयन देखिनै सेटिङमै परीक्षा हुने गरेको सम्झदै यस पटकको नतिजा वास्तविक नतिजा भएको धारणा राखेका  थिए । उत्कृष्ट नतिजा ल्याउने विद्यालयको विरोध भन्दा आफू उत्कृष्ट नतिजा हासिल गर्न प्रयासरत हुन सुझाव दिएका थिए । कार्यक्रममा बिभिन्न राजनैतिक दल , बिद्यार्थी संगठन , शिक्षक तथा विद्यालय सञ्चालक , सञ्चारकर्मी लगायतको सहभागिता रहको थियो ।

शिक्षक महासघं कोहलपुर नगर अध्यक्ष राम प्रसाद चापागाँईले विगतका गल्ती कमजोरी हटाएर अगाडि बढ्न खोज्दा केही चुनौती आई  लागेको बताएका थिए । उनले बिभिन्न आरोप प्रत्यारोपमा उत्रन भन्दा आगामी दिनको नतिजा सुधारका लागी काम गर्न संवद्धहरुलाई आग्रह गरेका थिए । 

कोहलपुर नगरपालिकाले आधारभुत तह कक्षा ८ को नतिजा प्रकाशन बारे  गुनासो आए पछि कोहलपुर नगरपालिका वडा नं १२ का अध्यक्ष बिरेन्द्र शाहको अध्यक्षतामा छानबिन समिति निर्माण गरेको छ । जसमा सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधि , शिक्षक महासंघ प्रतिनिधि  सहभागी छन । छानबिन समिति संयोजक शाहले आफू लाई प्राप्त कार्यादेशको आधारमा निष्पक्ष छानबिन गरेर प्रतिवेदन तयार पार्ने बताए । 

छानबिन समितिले समग्र परीक्षाकपी जाँच प्रक्रिया , नतिजा प्रकाशन प्रक्रियाको जाँच गर्नुका साथै उत्तर पुस्तीका पुनः जाँच गर्ने संयोजक शाहले जानकारी दिए । त्यसका लागी एक दर्जन विज्ञको सहयोग लिएको उनले बताए । छानबिन समिति लाई २ सामुदायिक विद्यालय र ८ संस्थागत विद्यालय विरुद्ध उजुरी परेको छ । 

Nabintech