१७ बैशाख २०८१, सोमबार
बुवा खोज्दै छोरी


बाल्यकालमै कृपा सोनीले बुवाआमाको काख र साथ पाइनन् । हुर्कंदै गरेपछि ११ वर्षको उमेरमा आमाले छोडेर गइन् । आमाले दोस्रो बिहे गरेर घरजम गरेपछि आमा–बुवाको सहारा नपाएकी उनी आफन्तको घरमा नै हुर्किन् । कहिले मामाघर त कहिले सानिमाको घर गर्दै उनले आफ्नो बाल्यकाल बिताएको बताइन् ।

आफ्ना लागि केही नबोल्दिएपछि आफूले आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिनुपरेको कृपाले सुनाइन् ।

कृपाले सुर्खेत जिल्ला अदालतमा नाता प्रमाणित गरी पाउँ भनी बुवा कुवेर सोनीविरुद्ध पनि मुद्दा दर्ता गरेकी छन् । आमाले बुवाको पहिचान खुलाएपछि आफूले जन्मदर्ता गराउन पाएको उनले सुनाइन् । १८ वर्षका दौरानमा कहिलेकाहीं मात्र उनले बुवा कुवेर सोनीलाई भेट्न पाएकी थिइन् । ‘कहिल्यै पनि घरमा भेट्नु भएन,’ उनले भनिन्, ‘एक–दुईपटक होटलमा चाहिं भेटेकी छु ।’

बुवा–आमाको अभावमा हुर्किएकी कृपा अहिले बुवासँग आफ्नो पहिचान स्थापित गर्ने लडाइँमा छन् । आफ्नै बुवाले छोरीलाई स्वीकार गर्न नमानेपछि उनी अहिले बुवा खोज्दै नेपालगन्ज आइपुगेकी हुन् ।

नेपालगन्जका व्यवसायी कुवेर सोनीले कृपा आफ्नो छोरी नभएको बताएपछि उनी अहिले अलपत्र परेकी छन् । पारिवारिक तनावले कृपाले आफ्नो पढाइलाई समेत निरन्तरता दिन सकेकी छैनन् । कक्षा ८ मा पढ्दै गरेकी उनी अहिले नियमित स्कुल जानसमेत पाएकी छैनन् ।

‘भेटमा जहिले पनि आश्वासन मात्र दिनुभयो । आजसम्म म जसोतसो गरेर बाँचे, अब मेरो भविष्य कसले हेर्ने रु कसको सहारामा म बाँच्ने रु’ कृपाले भनिन्, ‘कि मेरो बुवा देखाइदिनुपर्‍यो, होइन भने म बाउबिनाकी छोरी हुँ भन्ने प्रमाणित गरिदिनुपर्‍यो ।’

कृपाका अनुसार उनकी आमा र कुवेरले प्रेम सम्बन्धपछि बिहे गरेका थिए । बुवाले आमालाई नेपालगन्जको कोरियनपुरमा कोठा लिएर राखे । नेपालगन्जकै एक अस्पतालमा आफ्नो जन्म भएको आमाबाट थाहा पाएको कृपा बताइन् ।

कृपाका अनुसार आफू जन्मेपछि दुई वर्षसम्म आमा नेपालगन्जमा बसिन् । तर, समयक्रममा कुवेरले आमाछोरीलाई नै स्वीकार नगरेपछि कृपालाई लिएर उनकी आमा सुर्खेत गएकी थिइन् । अहिले कृपा १८ वर्षकी भइन् । ‘मलाई बुवाको धन–सम्पत्ति केही चाहिएको हैन,’ कृपाले भनिन्, ‘मलाई मेरो पहिचान दिए पुग्छ, मलाई चाहिएको त्यत्ति हो ।’

कुवेरको परिवारले मुद्दा फिर्ता गर्न मानसिक रुपमा दबाब दिइरहेको पनि कृपाले सुनाइन् । ‘बाहिर भेट्दा तिमी मेरी छोरी हौ, म तिमीलाई हेर्छु, पढाउँछु भनेर ढुक्क पार्नुहुन्छ,’ उनले भनिन्, ‘अदालतमा पुगेपछि मलाई चिन्नु हुन्न, बोल्नुहुन्न ।’

कुवेर सोनी विवाहित हुन् । उनी नेपालगन्जमा व्यवसाय गरेर बस्छन् । उनले कृपा आफ्नी छोरी नभएको दाबी गरे । ‘मैले बिहे नै गरेको छैन, कसरी मेरी छोरी हुन्छे ?’ उनले भने, ‘अहिलेसम्म हराएकी छोरी १८ वर्षपछि कसरी टुप्लुक्क आइपुगी रु यो सब मेरो सम्पत्ति देखेर फसाउन गरिएको प्रपञ्च मात्रै हो ।’

ई कान्तिपुर बाट साभार

Nabintech