१९ बैशाख २०८१, बुधबार
छैठौं नेपालगन्ज महोत्सवमा खुलेआम जुवा,प्रहरी  मूकदर्शक 


नेपालगञ्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा अवैध रुपमा जुवा खुलेआम सञ्चालन भएको पाइएको छ । महोत्सवमा अवैध जुवा सञ्चालन भएपनि प्रहरी भने मूकदर्शक बनेको छ । महोत्सवका आधा दर्जन स्थानमा फिरफिरे रिङ, तिर र रिङ लगायतका जुवा खेलाइए पनि प्रहरी भने मूक दर्शक भएर बस्ने गरेको एक मेलामा सहभागी दर्शकले बताए । बुधवार मेला हेर्न पुगेका एक सर्वसाधारणले आफ्नो ४ हजार रुपैयाँ फिर फिरे रिङमा लुटिएको गुनासो गरे ।

जुवा सञ्चालकहरूले आफूलाई बिभिन्न प्रलोभन ( डबल ट्रिपल ) दिने भन्दै पैसा थप्न लगाएको र सबै पैसा लुटेको जानकारी दिए । आफ्नो पैसा लुटिएको बारे गुनासो गर्दा समुहमा रहेका जुवा सञ्चालकहरूले आफू माथि हात पात गरेको र सो बारे प्रहरीमा उजुरी गर्दा समेत सुनवाई नगरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सुवास चन्द्र बोहराले महोत्सवमा जुवा खेलाइएको बारे आफूलाई जानकारी नभएको बताए । उनले आफू र प्रमुख जिल्ला अधिकारी मेला सञ्चालनको विपक्षमा रहेको भएपनि माथिको आदेशमा मेला सञ्चालन गर्न दिएको बताए ।

उनले माथि कहाँको आदेश हो खुलाउन चाहेनन् । उनले फिर फिरे रिङ , तिर र रिङ जुवा हो र भन्दै प्रतिप्रश्न गरेका थिए ।

नियन्त्रणमा लिइएको जुवा खेलाउने समान फिर्ता दिइयो 

बुधवार अपराह्न मेला परिसरमा खटिएको प्रहरीले जुवा खेलाउन प्रयोग भएको फिर फिरे रिङ केही समय नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको सो जुवा खेलाउने समान माथिको आदेश भन्दै जुवा खेलाउनेहरुलाई नै फिर्ता गरेको छ । डिउटी मा खटिएका एक जुनियर प्रहरी अधिकारीले वडा प्रहरी कार्यालयका प्रमुख र जिल्ला प्रहरी प्रमुखको मौखिक आदेशमा फिर्ता दिएको बताए ।

उनले आगामी दिनमा जुवा नखेलाउने सर्तमा फिर्ता दिएको समेत बताए । जुवा खेलाउने मध्येका एकले महोत्सवको सुरुवाती चरणमा बन्द रहेको जुवा प्रशासनलाई १ लाख रुपैयाँ बुझाएर पुन सञ्चालन गरिएको दाबी गरे ।

Nabintech