१८ बैशाख २०८१, मंगलवार
कोहलपुरका २ वटा विद्यालयले अनुमति बिना कक्षा सञ्चालन


बाँकेको कोहलपुर नगरपालिकामा रहेका २ वटा विद्यालयलाई स्पष्टिकरण सहित कारवाही गर्ने चेतावनी दिएको छ ।

कोहलपुर नगरपालिकाले नगरमा रहेका हरेक संस्थागत विद्यालयको अनुगमन तथा निगरानी राखेको छ । कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर हमालले नगरमा सञ्चालन भएका संस्थागत विद्यालयहरुको निगरानी तथा अनुगमन गरिरहेको बताए ।

‘नगरपालिकामा सञ्चालन रहेका विद्यालयहरुले अनुमति विना नै कक्षा सञ्चालन गरेको र बालबालिकाको भविष्य माथि नै खेलवाड गरेको पाइएपछि स्पष्टिकरण सहित बन्द गराउने चेतावनी दिएको हो,’ उनले भने, ‘पहिलो चरणमा स्पष्टिकरण सोधिएको छ, त्यसपछि कारवाहीको पक्रिया अगाडि बढाइने छ ।’

कोहलपुरमा संस्थागत विद्यालयहरुले मनपरी कक्षा सञ्चालन गरेको पाइएपछि यस्तो अभियान नै सञ्चालन गरेको शिक्षा शाखाका प्रमुख हमालले बताए ।

कोहलपुुर नगरपालिका वडा नम्बर ३ मा रहेको न्यू कर्णाली ई।मी स्कुल र कोहलपुर २ मा रहेको भरोसा एकेडेमीले कक्षा अनुमति नलिई कक्षा सञ्चालन गरेपछि ३ दिन भित्र जवाफ पेश गर्न भनी स्पष्टिकरण माग गरिएको छ । ३ दिन भित्र स्पष्टिकरण नदिए बन्द गर्ने चेतावनी दिइएको छ ।

नगरपालिकाले अहिले संस्थागत विद्यालयहरुले लिइरहेको शुल्क, बसको सिटको क्षमता भन्दा बढि बोक्ने सवारी साधन र कक्षा थप नगरी कक्षा सञ्चालन गरेको विषयलाई निगरानी गरेको शाखाका अधिकृत रविलाल मिजारले बताए ।

Nabintech