१६ बैशाख २०८१, आईतवार
जानकी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार


बाँकेको जानकी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई प्रोत्साहन गर्न मासिक दुई हजार रुपियाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गाउँपालिकाका ६ वटै वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन रकम उपलब्ध गराउन चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा १९ लाख ४४ हजार रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत डाँगीले भन्नुभयो, ‘मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको गाउँपालिकामा मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा दिनरात गरेको मेहनतलाई गाउँपालिकाका तर्फबाट थोरै भए पनि समेट्ने प्रयास गरिएको छ ।’ जानकी गाउँपालिकाका वडा १ देखि ६ सम्म ८१ जना महिला स्वास्थ्य स्वयम् सेविका कार्यरत रहनुभएको छ ।

अब महिला स्वास्थ्य स्वयंसेविकाले सङ्घीय सरकारबाट वार्षिक पोसाक खर्चबापत १० हजार, मासिक एक हजार र गाउँपालिकाबाट मासिक थप दुई हजार रुपियाँ प्राप्त गर्ने भएका छन् । जानकी गाउँपालिकाले चालु आवका लागि महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूह कार्यक्रमका लागि ३५ लाख १३ हजार रुपियाँको बजेट विनियोजन गरेको छ ।

महिला स्वयंसेविका भने गाउँपालिकाले मासिक दुई हजार रुपियाँ दिने निर्णय गरेकोमा स्वागत गर्दै यतिले मात्रै पर्याप्त नहुने गुनासो गरेका छन् । सोमबार गाउँपालिका पुगेर महिला स्वास्थ्य स्वयंसेविकाले दिनरात नभनी स्वास्थ्य सेवामा खटिएका आफूहरूलाई घरखर्च चलाउन पुग्नेगरी बजेटको व्यवस्था गरिदिन माग गरेको बताएका छन् ।

वडा नम्बर २ बेलभारमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका रिमा काँदुले आफूहरूले ग्रामीण बस्तीमा गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य हेरचाह तथा अन्य काममा दिनरात नभनी खटिने भएकाले पालिकाबाट थप प्रोत्साहन माग गरिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले महिला स्वास्थ्य स्वयंसेविकाको कामको मूल्याङ्कन आधारमा हाललाई मासिक दुई हजार थप गरिएको जानकारी दिनुभयो ।

Nabintech