१६ बैशाख २०८१, आईतवार
कोहलपुरमा निर्मित बसपार्कको आइतबार मुख्य मन्त्री  चौधरीले उद्घाटन गर्ने


कोहलपुर ११ मा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको आइतबार उद्घाटन गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बसपार्कको उद्घाटन गर्ने कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।आइतबार बिहान उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख आचार्यले बताए । 

आचार्यका अनुसार यस अघि पूर्व नगर प्रमुख लुट बहादुर  रावतले बसपार्क भित्र निर्मित टर्मिनल भवनको उद्घाटन गरेको जानकारी दिदै यस पटक बसपार्कको उद्घाटन गर्न लागेको बताए । यस अघि कार्यकाल सकिन लागेका पूर्व नगर प्रमुख लुट बहादुर रावतले निर्माण कार्य नसकिदै टर्मिनल भवनको उद्घाटन गरेका थिए ।

निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको भन्दै सो समयमा प्रमुख रावतका आलोचना भएको थियो । आइतबार उद्घाटन सँगै पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क औपचारिकरूपमा सञ्चालन आउने भएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले पश्चिम नेपालको सुविधा सम्पन्न  बसपार्क अव सञ्चालनमा आउने बताए । बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । 

बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स, बिधुतिय चाजिङ स्टेसन लगायतका सबै संरचना छन् । बसपार्कमा तीनवटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था  छ ।

Nabintech