२० बैशाख २०८१, बिहीबार
कोहलपुर नयाँ बसपार्कको बोलपत्र स्वीकृत , टर्मिनल भवनको पाँचौ पटक सूचना आवहान


कोहलपुर ११ मा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको बोलपत्र स्वीकृत भएको छ ।

पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क साउन देखी औपचारिकरूपमा सञ्चालन आउने भएको हो । लामोदूरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुर ११ बाँकेले लिएको हो । तर बसपार्कको संरचना सँगै निर्माण ४ तले टर्मिनल भवन भने ठेक्का लाग्न सकेको छैन ।

टर्मिनल भवन ठेक्काका लागी पाँचौ पटक बोलपत्र आवहान गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । बागेश्वरी यातायात प्रालिले अब बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको व्यवस्थापन गर्नेछ । बागेश्वरी यातायात व्यवसायी प्रालिका टंक बस्यालले बसपार्कको व्यवस्थापनका आफूहरूको बोल पत्र स्वीकृत भएको जानकारी दिए । उनले साउन १ गते उद्घाटन गरेर बसपार्क सञ्चालन गर्ने तयारी भएको बताए । प्रालिले तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न र वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ तिर्ने गरि बोलपत्र स्वीकृत भएको बस्यालको भनाई छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले छिटै बसपार्क सञ्चालनमा आउने बताए । बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ ।

बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स लगायतका सबै संरचना छन् । बसपार्कमा तीनवटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था  छ ।

Nabintech