६ चैत्र २०८०, मंगलवार
चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ: मन्त्री शर्मा


सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभएको छ । चलचित्र क्षेत्रलाई आवश्यकता भन्दा विलासिताको रुपमा हेर्ने दृष्टिकोणका कारण यसको विकास हुन नसकेको पनि उहाँले बताउनुभयो ।
भैरहवामा आजदेखि सुरु भएको जीवनीमा आधारित चलचित्र निर्माणसम्बन्धी कार्यशाला उद्घाटन गर्दै उहाँले चलचित्रलाई देश निर्माण र समाज रुपान्तरणको आधारको रुपमा लिनुपर्ने बताउनुभयो । अरु माध्यमबाट दिन नसकिने शिक्षा र सन्देश चलचित्रबाट सजिलै दिन सकिने भएकाले पनि यसलाई समाज रुपान्तरणको माध्यमको रुपमा लिनुपर्नेमा मन्त्री शर्माको जोड थियो ।
इतिहास तथा कुनै कालखण्डसँग जोडिएका मुुख्य व्यक्तित्वसँग नजिक रहेर चलचित्र लेखन, निर्माण र प्रदर्शनका लागि दक्ष स्रोत व्यक्ति र प्रशिक्षकद्वारा प्रशिक्षित गर्न आयोजना गरिएको यो प्रशिक्षण नितान्त नौलो र महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै उहाँले यति महत्वपूर्ण कार्यक्रम विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरी पृथक विधाका चलचित्रकर्मी उत्पादन गर्ने कार्यक्रम आयोजना गरेकोमा पनि आयोजकलाई धन्यवाद दिनुभयो ।
गौतम बुद्धको जन्मस्थल, ऐतिहासिक घटनाक्रमको थालनी भएको क्षेत्र मात्र नभै मगर, थारु, अवधि भाषी समुदायको संगमस्थलको रुपमा रहेको लुम्बिनी नेपालको महत्वपूर्ण पर्यटकीयस्थल भएको औल्याउँदै मन्त्री शर्माले यो प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र साहसिक चारैप्रकारका पर्यटन प्रवर्धनका लागि उपयोगी क्षेत्र भएकाले चलचित्र उद्योगलाई पर्यटन उद्योगसँग जोड्न र लुम्बिनी प्रदेशलाई चलचित्र छायाँकन स्थलको रुपमा प्रयोगमा ल्याउन पनि चलचित्र क्षेत्रसँग आग्रह गर्नुभयो ।
नेपाली समाजका बहुुआयामिक विशेषताहरु रहेको औल्याउँदै उहाँले बहुजातीय, बहुुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा हरेक समुदायभित्र आ–आफ्नै मौलिकताका नायकहरु रहेकाले उनीहरुको जीवनीमा आधारित बायोपिक चलचित्र निर्माणलाई व्यवसायिक रुप दिनुपर्ने बताउनुभयो । त्यसबाहेक राजनीतिज्ञ, यौद्धा, आविष्कारक, कलाकार, साहित्यकार, समाजसेवी तथा अन्य व्यक्तित्वहरुको कथा खोजी गरी चलचित्र निर्माण गर्नु र त्यसलाई विश्व बजारमा पुर्याउनु निकै महत्वपूर्ण काम हुने मन्त्री शर्माको भनाइ थियो ।
उहाँले बायोपिक चलचित्र निर्माणले देश र जनताका प्रिय पात्रहरुको जीवनी र संघर्षको खोजी गरी चलचित्रको माध्यमबाट विश्व सामुु चिनाउने, वायोयिक चलचित्रमा व्यवसायिकताको खोजी गर्ने, ऐतिहासिक व्यक्तित्वलाई अमरत्व प्रदान गर्ने, विदेशी लगानीकर्ताका लागि पनि लगानी गर्ने वातावरण सिर्जना हुने र चलचित्रको माध्यमबाट नेपालको पर्यटन प्रवर्धनमा टेवा पुुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Nabintech