६ चैत्र २०८०, मंगलवार
कोहलपुर नगरपालिकाले खरिद गरेको सेनेटरीप्याड गुणस्तरहीन भएको ‘आसंका’


कोहलपुर नगरपालिकाले स्कुले छात्रालाई नि;शुल्क बितरणका लागी भन्दै खरिद गरेको सेनेटरी प्याड गुणस्तरहीन भएको आसंका गरिएको छ ।
खरिद गरि बितरण गर्ने तयारी भईरहदा बिद्यालयका शिक्षकहरुले गुणस्तरहीन भएको भन्दै परिक्षण गरेर मात्रै बितरण गर्न भनेपछि सो सेनेटरी प्याड परिक्षणका लागी गुण नियन्त्रण तथा नाप तौल बिभाग काठमाण्डौ पठाईएको छ ।
कोहलपुर नगरपालिकाका जिन्सी शाखा प्रमुख हरि वलीले जस्मिन हाईजिन नामक सप्लायर्स कम्पनी मार्फत २७ लाख बरावरको सेनेटरी प्याड खरिद गरिएको जानकारी दिए । उनले खरिद गरिएको सेनेटरीप्याड कोहलपुर नगर पालिकाको सभाहलमा राखिएको बताए । शिक्षा मन्त्रालयले तय गरेको मापदण्ड अनुसारको प्याड सप्लाईको लागी बिज्ञापन गरिएको जानकारी दिदै प्रमुख वलीले गुणस्तरीयता बारे प्रश्न उठे पछि परिक्षणका लागी पठाईएको जानकारी दिए ।
कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालले खरिद गरेका प्याडहरु परिक्षणका लागी काठमाण्डौ पठाईएको बताए । गुणस्तरीयताको रिर्पोट २ हप्ता पछि आउने उनको भनाई छ ।
कोहलपुर नगर भित्रका बिद्यालयहरुमा नि:शुल्क बितरणका लागी १ लाख ८ हजार प्याकेट सेनेटरी प्याड खरिद गरिएको छ । नाम नबताउने सर्तमा एक शिक्षकले सेनेटरी प्याड आकारमा सानो र गुणस्तरहीन भएको बताए ।
कोहलपुर नगरपालिकाले सेनेटरीबितरणका लागी पटक पटक बिद्यालयको शिक्षकहरुलाई कार्यालयमा बोलाएको भएपनि शिक्षकहरुले सो प्याड लैजान अस्विकार गरेका हुन । बिवाद पछि गुणस्तरीयता जाँच गर्ने सहमति भएको थियो ।
समयमा प्याड बितरण नगर्दा बिद्यालयहरुले आफैले आन्तरिक श्रोत बाट प्याड किनेर बितरण गर्दै आएका छन । बिद्यालय संख्या अनुसार आफैले प्याड किनेर बितरण गरिएको एक शिक्षकले जानकारी दिए ।

Nabintech