१४ बैशाख २०८१, शुक्रबार
बाँकेका दीपकराजसिंह ठकुरीको गोलसँगै नेपाल फाइनलमा


९०औँ मिनेटमा दीपकराजसिंह ठकुरीको आकर्षक हेडर गोल मद्यतले नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मैदान प्रवेश गरेलगत्तै कर्नरकिक लिन पुगेका अनुभवी भरत खवासले प्रहार गरेको कर्नर किकमा अनन्त तामाङले हेडर गर्दै बललाई गोलपोष्टतर्फ दिशा दिएका थिए । त्यसलाई हेडरमै सटिक प्रहार गर्दै दीपकले बललाई जाली चुमाए ।

जितसँगै नेपाल एक जित र एक बराबरीसहित ४ अंकसहित फाइनलमा प्रवेश गरेको छ । नेपालसँगै लाओस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय टिमबाट आफ्नो दोस्रो खेल खेलिरहेका दीपकले पहिलो गोल गरे । जारी सहिद स्मारक ए डिभिजन लिगका पाँच खेलमा चार गोल गरेका दीपकले आफ्नो उपस्थितिलाई राष्ट्रिय टिमलाई प्रमाणित गरेका छन् ।

खेलको निर्धारित ९० मिनेट सुरु हुनुअघिसम्म भुटान खेलमा १–० को अग्रतामा थियो । १३ वर्षको इतिहासमा पहिलोपटक नेपाललाई हराउँदै प्रतियोगितामा फाइनल पुग्न अग्रसर बनिरहेको भुटानले अन्तिम केही मिनेट खेलमा नियन्त्रण गुमाउँदा प्रतियोगिताबाट बाहिरिएको छ ।
अब नेपाल र लाओसबीच १७ गते फाइनल खेल हुनेछ ।

Nabintech