१४ बैशाख २०८१, शुक्रबार
लुम्बिनीमा सरकार परिवर्तन गर्ने गृहकार्य शुरु हुँदै


लुम्बिनी प्रदेश सरकार  संकटतामा परेको छ । उपराष्ट्रपतिको छनौट प्रक्रियाको निर्वाचन नजिकिँदै गर्दा लुम्बिनीमा सरकार परिवर्तनको गृहकार्य शुरु हुन थालेको बताइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीको नेतृत्वको लुम्बिनी प्रदेश सरकार सङ्कटमा पर्ने देखिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनपछि लुम्बिनीमा भएको गिरी नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने गृहकार्य चलिरहेको बताइएको छ । केन्द्रीय राजनीतिक  समीकरण अनुसार प्रदेशका दलहरूले सरकार फेरबदल बारेमा छलफल गर्दै आएको स्रोतले जनाएको छ ।

उपराष्ट्रपतिको निर्वाचन सकिएपछि माओवादी सहितका दलहरूले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताएका छन् । उनले भने, सरकार परिवर्तनबारे प्रयास हुनेछ । सम्भवतः चैतको पहिलो साताभित्र समर्थन फिर्ता लिने तयारी रहेको उनले बताए ।

लुम्बिनी सरकारको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति, लोपसा र जसपा लगायत ८ दल रहेका छन् । तर  राप्रपाले भने अहिलेसम्म एमालेलाई साथ दिने जनाएको छ । समर्थन फिर्ता लिएपछि नैतिकताको आधारमा मुख्यमन्त्री लिला गिरीले राजीनामा दिने विश्वास दलहरूको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीले पनि चैत ७ गतेभित्रै प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी रहेको बुझिएको छ । यस बिषयमा नेता चौधरीलाई सम्पर्क गर्दा मोबाइल स्विच अफ भएकाले निकट स्रोतले उद्धृत गरेको छ । माओवादीसहित साना दलले समर्थन फिर्ता लिएमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ ।

यता राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले भने राप्रपाले एमालेको साथ नछोड्ने बताए । उनका अनुसार आफूहरू यही सरकारलाई साथ दिने बताउँदै वर्तमान सरकारलाई नै निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पारे । लुम्बिनीमा एमालेको २९ र राप्रपाको ४ सिट छ । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सिट आवश्यक हुन्छ ।

लुम्बिनीमा जम्मा ८७ जना सांसदहरू छन् । जसमा नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, नेकपा एमाले २९, जसपा ३, नागरिक उन्मुक्ति ४, लोसपा ३, जनमत पार्टी ३, स्वतन्त्र २, राष्ट्रिय जनमोर्चा पार्टी १ र एकीकृत समाजवादी पार्टी १ रहेका छन् । लुम्बिनीमा अब मुख्यमन्त्री परिवर्तन भएपछि नेपाली कांग्रेस अथवा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने पक्कापक्की छ ।

 

Nabintech