१५ बैशाख २०८१, शनिबार
इस्तियाक राईको निर्वाचन क्षेत्रबाट समसुलको पनि दावेदारी


बाँके निर्वाचन क्षेत्र नं. २ को टिकट वितरणलाई लिएर जनता समाजवादी (जसपा) मा किचलो देखिएको छ । बाँकेमा टिकट दावीसम्म गर्न नदिएको भन्दै युवा नेता समसुल राईले पार्टी प्रदेशमार्फत केन्द्रमा आकांक्षाको पत्र पठाएपछि किचलो सार्वजनिक भएको हो ।

जसपा बाँकेले बाँके क्षेत्र नम्बर २ मा मो. इस्तियाक राईको एकल दावी परेको र उनकोमात्रै नाम सिफारिस गरिएको बताउँदै आएको छ । तर, वर्तमान सरकारमा मन्त्रीसमेत रहेका राईका पूर्व स्वकीय सचिव समसुल हक राईले आफुहरुलाई सूचनानै नदिएर एकलौटी रुपमा नाम सिफारिस गरिएकाले आफुले प्रदेशमार्फत केन्द्रमा नाम सिफारिस गराएको दावी गरेका छन् ।

जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले भने समसुलको उम्मेदवारी आकांक्षाको पत्र प्रदेशमा प्राप्त भएकाले केन्द्रमा ‘फरवार्ड गरिदिएको’ बताएका छन् । ‘जिल्ला र प्रदेशबाट सिफारिस भएको भनेको एउटै नाम हो, मो।इस्तियाक राईको,’ अध्यक्ष यादवले भने, ‘समसुलजीको पत्र पनि आएकाले प्रदेशबाट फरवार्ड गरिदिएका हौं ।’ उनले अन्य विवादबारे बोल्न चाहेनन् ।

२०६३ को मधेश आन्दोलनदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका समसुलले इस्तियाक राईलाई पटक–पटक सांसददेखि मन्त्रीसम्म बनाउन भूमिका खेलेकाले अब उनीबाट आफुले सहयोगको अपेक्षा गरेको बताए ।

‘सधैं ममात्रै सांसद, मन्त्री बनिरहन्छु भन्ने हुनु भएन,’ युवा नेता समसुलले भने, ‘अब उहाँ (इस्तियाक)ले आफुलाई जीवनभर साथ दिनेहरुलाई पनि मौका दिनुपर्यो, योगदानको कदर गर्नु प¥यो ।’

जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले टिकट दावेदारीमा कुनै किचलो नभएको दावी गरे । ‘एक जनाको दावी आयो, सिफारिस पनि निर्विवाद गरिएको हो,’ अध्यक्ष राईले मो। इस्तियाक राईको मात्रै नाम सिफारिस भएको जानकारी दिंदै भने, ‘कसले किन किचलोको कुरा गरिरहेको छ, जानकारी भएन ।’ उनले प्रदेशले पनि जिल्लाकै सिफारिसलाई केन्द्र पठाएको बताए ।

Nabintech