१४ बैशाख २०८१, शुक्रबार
निर्वाचनमा माओवादी केन्द्र नै किन ?


आगामी मंसीर ४ गते आइतबारका दिन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा एकातर्फ सत्तारूढ पाँचदलीय र अर्कोतर्फ सत्ताइतरका दलहरू सामेल हुँदैछन्। यस अर्थमा आगामी निर्वाचनमा लोकतन्त्र र निरकुंशतन्त्रबिच प्रत्यक्ष भीडन्त हुँदैछ। यो निर्वाचन केवल दलहरूबिचको प्रतिस्पर्धामात्र नभएर संविधान र लोकतन्त्रको जीवन र भविष्यसँग सम्बन्धित छ। तसर्थ, लोकतन्त्र र संविधानको रक्षाका निम्ति माओवादी पार्टी र यसका उम्मेदवारहरू रोजौं।
१. माओवादी केन्द्र नेपालको राजनीतिक परिवर्तनको नेतृत्वकारी शक्ति हो। माओवादीकै नेतृत्वमा देशमा एकात्मक सत्ताको अन्त्य भई संघीय प्रणालीमा प्रवेश गर्यो, राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भयो। निरंकुशतन्त्रको अन्त्य भई लोकतान्त्रिक प्रणालीको अभ्यास भइरहेको छ। यी सम्पूर्ण परिवर्तनको निर्णायक शक्ति हो–माओवादी। तसर्थ, माओवादीको विजयले मात्र लोकतन्त्र र संविधानको रक्षा एवं थप विकास सम्भव छ।
२. क्रान्ति र शान्तिका दुवै मोर्चामा निर्णायक शक्ति हो माओवादी। २०५२–०६३ को महान् जनयुद्धको नेतृत्व गरेको माओवादी शक्तिले पछिल्लोपटक शान्तिप्रक्रियाको समेत नेतृत्व गरिरहेको छ। माओवादीकै प्रयत्नका कारण बेलाबखत हिंंसा भड्काउनका निम्ति गरिएका प्रयासहरू मत्थर भएका छन्। विस्तृत शान्ति सम्झौताका एकमात्र जीवित हस्ताक्षरकर्ता प्रचण्डकै पहलमा शान्तिप्रक्रियाका बाँकी कामहरूसमेत सम्पन्न हुने दिशातर्फ छन्। यो देशको राजनीतिक स्थिरता र आर्थिक विकासका दृष्टिले महत्वपूर्ण छ।
३. वि.सं. २०६२/०६३ को जनआन्दोलनपछि भौतिक विकासको प्रत्यक्ष नेतृत्व गर्ने शक्तिसमेत माओवादी नै हो। २०६४ को पहिलो संविधानसभाका बेला माओवादी पार्टीले नयाँ नेपालको मार्गचित्र प्रस्तुत गर्यो। उक्त मार्गचित्रअनुसार नै देशमा पूर्वाधार एवं मानवीय विकासका कामले गति लिएका छन्। हाल देशमा २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरू छन्, जुन आयोजनाहरू माओवादीकै नीतिगत निर्णय र पहलमा सञ्चालनमा मात्र आएनन्, विकासको गुणात्मक प्रतिफल दिने गरी हाल निर्माण सम्पन्न गर्ने चरणमा छन्।
४. सामाजिक न्यायका दृष्टिले नेपालको संविधान विश्वमै उत्कृष्ट मानिन्छ। नर्डिक देशपछि नेपाल नै त्यस्तो देश हो जहाँ सामाजिक सुरक्षाका माध्यमबाट राज्यले अशक्त, असहाय र बिपन्न नागरिकहरूलाई अभिभावकत्व प्रदान गर्दै आएको छ। जेष्ठ नागरिक, एकल महिला, द्धन्द्धपीडित, उत्पीडित वर्ग र क्षेत्रका नागरिकलाई दर्जनौं प्रावधान राखेर सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। यो सामान्य उपलब्धि पक्कै होइन।
५. माओवादी केन्द्र राष्ट्रियताको पहरेदार शक्तिसमेत हो। सत्ताको नेतृत्व गर्दा होस् वा विपक्षमा रहँदा, माओवादी नेतृत्वले राष्ट्रिय हितविपरितका कुनै पनि सन्धि सम्झौतामा हस्ताक्षर गरेको छैन। देशको स्वाभिमान झुक्ने कुनै पनि निर्णय लिएको छैन। बरू एमसीसी लगायतका परियोजनालाई राष्ट्रिय हितअनुकूल बनाउन आफ्नोतर्फबाट निरन्तर खवरदारी गरिरहेको छ।
६. सामन्ती राजतन्त्रको २५० वर्षे कार्यकालमा नभएको विकास पछिल्लो १५ वर्षमा सम्भव भएको छ। सडक पूर्वाधार, पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, जलविद्युत लगायतका क्षेत्रमा देखिने गरी महत्वपूर्ण काम भएका छन्। प्रतिव्यक्ति आय, औसत आयुदर, मानव विकास सूचकांकका अधिकांश इन्डेक्सहरू विकासशील मुलूकसँग प्रतिस्पर्धा गर्नसकिने ठाउँमा छन्। मौलिक हकहरूको कार्यान्वयन गर्ने प्रक्रिया क्रमशः फराकिलो बन्दैछ। यसलाई नेपालको भविष्यका दृष्टिले सकारात्मक सूचकका रूपमा लिन सकिन्छ।
७. बढ्दो व्यापारघाटा, भ्रष्टाचार निवारण, वैदेशिक रोजगारीको प्रतिस्थापन जस्ता विषयहरू हाम्रो राष्ट्रिय चुनौती हुन्। यी चुनौतीको सकारात्मक सम्वोधन गरेर मात्र राजनीतिप्रति जनतामा विद्यमान विकर्षण निराकरण गर्न सकिन्छ। तर, त्यसका लागि पनि सही नीति र नेतृत्वको जरूरत पर्दछ। आगामी निर्वाचनले सत्ताको बागडोर माओवादीको हातमा सुम्पिने परिस्थितिमा उल्लेखित अधिकांश चुनौती सम्वोधन हुनेछन्।
८. राष्ट्रिय संकटको समाधानका निम्ति माओवादी नेतृत्व नै निर्णायक भूमिकामा छ। जब–जब राष्ट्रिय संकट देखा पर्दछ, तब–तब माओवादी नेतृत्वको खोजी हुन्छ। नेपाली राजनीतिमा यस्तो मानक स्थापित भइरहेको छ– हरेक समस्याको समाधान प्रचण्डसँग छ। तर, देशको समस्या सम्वोधनका निम्ति अत्यावश्यक नेतृत्व प्रचण्डलाई देशको बागडोर सुम्पिन किन हुँदैन, किन दलहरू भयभित छन् ? यो प्रश्न पनि जबर्जस्त उठ्ने गरेको छ। संकटका बेला जसले समाधान दिन सक्छ, वास्तविक नेतृत्व नै त्यही हो। तसर्थ, संकटको दीर्घकालीन समाधानका निम्ति माओवादीको बिकल्प छैन।
९. लोडसेडिङको अन्त्य, तीव्र आर्थिक विकासको सुत्रपात, कुटनीतिक सन्तुलन लगायतका विषयमा माओवादीले खेलेको भूमिका दूरगामी प्रकृति र प्रवृत्तिको छ। दोस्रो प्रधानमन्त्रीकालमा प्रचण्डको नेतृत्वमा आर्थिक–सामाजिक रूपान्तरणका जे–जति कामहरू भए, ती स्मरणीय छन्। निर्वाचनमार्फत् प्राप्त जनादेशबाट प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्दा विगतका अधुरा एवं अपूरा कामहरू सम्पन्न मात्र हुने छैनन्, देशले दीर्घकालसम्म स्मरण गर्नयोग्य केही नयाँ काम हुनेछन् भन्ने विश्वास गर्न सकिन्छ।
१०. लोकतन्त्र विचार र निष्ठा त हो नै। तर, आचरण पनि महत्वपूर्ण अवयव हो। नेपालका राष्ट्रिय नेतामध्ये प्रचण्ड नै त्यस्ता नेता हुन्, जोसँग लोकतान्त्रिक कार्यशैली, सहकार्यको संस्कृति र उदार भावना छ। नदीका २ किनारलाई सम्वादको प्रक्रियाद्वारा विश्वासमा लिनसक्ने र समस्याको समाधान दिनसक्ने नेता पनि प्रचण्ड नै हुन्। त्यही भावना नै राष्ट्रिय संकट समाधानको वास्तविक सेतु पनि हो भन्न सकिन्छ।
११. देशको राजनीतिक आर्थिक रूपान्तरणको नेतृत्व गरिआएको माओवादी शक्ति विभाजित हुँदा विगतमा त्यसको प्रत्यक्ष लाभ परिवर्तनविरोधी शक्तिले लिए। तर, परिस्थितिले माओवादी शक्तिहरू क्रमशः एकीकृत हुने भौतिक र मनोवैज्ञानिक वातावरण बनेको छ। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबाहिर कसैको पनि राजनीतिक भविष्य सुरक्षित देखिएको छैन, क्रान्तिको सपना फक्रिएको छैन। यसले भविष्यमा माओवादी शक्तिलाई गोलबन्द गर्ने बलियो भौतिक र वैचारिक आधार खडा भएको छ, जसले राजनीतिका असंख्य निरासाहरूलाई आशाको प्राण भर्न सक्छ।
उल्लेखित विषयहरू हाम्रो भविष्यसँग जोडिएका अहम् सवालहरू हुन्। घटनाक्रमले फेरि पनि माओवादी देशको निर्बिकल्प शक्तिका रूपमा पुनरोदय हुने संकेत देखिएको छ। तसर्थ, आगामी मंसीर ४ को निर्वाचनमा परिवर्तनको वाहक शक्तिका पक्षमा अभिमत प्रकट गरेर लोकतन्त्र र संविधानको रक्षा एवं समाजवादी नेपालको जग बसाल्ने ऐतिहासिक अवसरको सदुपयोग गरौं। फेरि पनि देश र जनताले जित्नेछन्।
(पत्रकार तथा लेखक मनहरी तिमल्सेनाको फेसबुक वाल बाट साभार गरिएको )

Nabintech