१४ बैशाख २०८१, शुक्रबार
सहकारी महासंघको अपील : बाहिर हल्ला भएजस्तो समस्या छैन, ढुक्क भएर सेवा लिनुहोस्


काठमाडौं । सहकारीप्रति आम सर्वसाधारणको विश्वास घट्दै जान थालेपछि राष्ट्रिय सहकारी महासंघले बाहिर हल्ला भएजस्तो सहकारी क्षेत्रमा समस्या नभएको दावी गरेको छ । विहिबार अपील जारी गर्दै महासंघले सबै सहकारी संस्थाहरुमा समस्या नभएको भन्दै ढुक्क भएर सेवा लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

महासंघको अपीलमा कोभिड १९ को महामारी रुस युक्रेनबीचको युद्ध र बढ्दो ब्यापारघाटाले देशको अर्थतन्त्रमा पारेको प्रभावका कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव भई केहि सहकारीमा पनि असर परेको उल्लखे गरिएको छ । तर, नगन्य संस्थामा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियानप्रति नै अविश्वास सिर्जना हुने खालको क्रियाकलाप भइरहेको भन्दै यसप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

महासंघले सहकारी संस्थाहरु स्वनियम, सुशासनमा संचालन हुनुपर्ने, संघसंस्थाको क्रियाकलाप नीति विधि र प्रविधिमैत्री हुनुपर्ने भन्दै ७ बुँदे अपील पनि जारी गरेको छ । अपीलमा विभागको निर्देशन अनुसार वित्तीय विवरण प्रकाशन गर्न, छिटो साधारणसभा गरी सदस्यहरुलाई विश्वासमा लिन, ऋण असुलीलाई प्राथमिकतामा राख्न, समस्या भएमा माथिल्लो तहको संघ वा बैंकसँग समन्वय र सहजिकरण गर्न आग्रह गरिएको छ ।

महासंघले सहकारीको समस्या समाधानमा गम्भिर रहेको र आगामी दिनमा पनि अभिभावकीय भूमिका निर्वाह गर्न क्रियाशिल रहेने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Nabintech