१४ बैशाख २०८१, शुक्रबार
माओवादी केन्द्र रुकुम पश्चिमले गर्यो संघ र प्रदेश सभाका लागि एकल उम्मेदवार सिफारिस


नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले आगामी संघ र प्रदेश सभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस गरेको छ । पार्टीको जिल्ला समन्वय समिति बैठकले बिहिबार संघमा जनार्दन शर्मा ‘प्रभाकर’को नाम एकल रुपमा सिफारिस गरेको हो ।

शर्मा हाल पनि रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँले २०६४ साल देखि निरन्तर चुनाव जित्दै आउनुभएको छ । हाल उहाँ अर्थमन्त्री समेत हुनुहुन्छ । त्यस्तै २ वटा निर्वाचन क्षत्र रहेको प्रदेश सभाका लागि पनि माओवादीले एकल उम्मेदवार सिफारिस गरेको छ ।

निर्वाचन क्षत्र नम्बर ‘क’ मा महेन्द्र केसी ‘पारसमणि’लाई सिफारिस गरिएको छ । उहाँ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । त्यस्तै निर्वाचन क्षत्र नम्बर ‘ख’ बाट भने राजकुमार शर्मा ‘आर्ट’को नाम सिफारिस गरिएको छ । उहाँ पार्टीको पोलिटव्युरो सदस्य हुनुहुन्छ भने यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भइसक्नुभएको छ ।

मुसीकोट नगरपालिका ५ सेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभाहलमा बसेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकले सर्वसम्मत रुपमा प्रत्यक्ष तर्फका उम्मेदवार टुंग्याएको पार्टीका जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न भने बाँकी छ ।

भोली सम्ममा संघ तथा प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारको नाम टुंग्याएर सिफारिस गर्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन् । तर माओवादीले मात्र एकल उम्मेदवार सिफारिस गरेको हो ।

Nabintech