१५ बैशाख २०८१, शनिबार
मत बदर गाउँभन्दा सहरमा बढी

गाउँपालिकामा औसत १४.३१, नगरपालिकामा १५.०५, उपमहानगरपालिकामा २०.१५ र महानगरपालिकामा २४.१२ प्रतिशत मत बदर



काठमाडौँ — स्थानीय तह निर्वाचनमा गाउँपालिका, नगरपालिका र उपमहानगरभन्दा महानगरपालिकामा मत बदर बढी भएको पाइएको छ । निर्वाचन आयोगले तयार गरेको मत बदरसम्बन्धी प्रारम्भिक विवरणमा बाजुराको बुढीगंगाबाहेक निर्वाचन सम्पन्न भएका सबै गाउँपालिकामा खसेको कुल मतको औसत १४.३१ प्रतिशत बदर भएको छ ।

गाउँपालिकाका सातै पदमा २ करोड ९४ लाख ८८ हजार ९ सय ८८ मत खसेकामा ४२ लाख २० हजार ९४ मत बदर भएको हो । चार गाउँपालिकाका जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भएका थिए ।

महानगरपालिकामा गाउँपालिकाको भन्दा झन्डै दोब्बर मत बदर भएको छ । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगन्ज र विराटनगर महानगरपालिकाका सातै पदमा खसेको मतको औसत २४.१२ प्रतिशत बदर भएको आयोगले जनाएको छ । महानगरका सातै पदमा ४३ लाख ३० हजार ३ सय ५८ मत खसेकामा १० लाख ४४ हजार ६ सय अर्थात् २४ प्रतिशत खेर गएको हो ।

नगरपालिकामा सातै पदमा ३ करोड ६८ लाख ४२ हजार ६ सय ११ मत खसेकामा ५५ लाख ४८ हजार २९ अर्थात् १५.०५ प्रतिशत खेर गएको छ ।

उपमहानगरपालिकामा पनि सातै पदमा खसेको ४२ लाख ७९ हजार ६६ मतमध्ये ८ लाख ६२ हजार २ सय ८२ अर्थात् २०.१५ प्रतिशत बदर भएको छ ।

उपमहानगरमध्ये धरानमा सबैभन्दा बढी ५२.८७ प्रतिशत मत सदस्यमा बदर भएको छ । सदस्यमा ६२ हजार ८ सय १२ मत खसेकामा ३३ हजार २ सय १० मत बदर भएको हो । उपप्रमुखमा सबैभन्दा बढी मत बदर धनगढी उपमहानगरपालिकामा भएको छ । धनगढीको उपप्रमुखमा ६३ हजार ६ सय ४७ मत खसेकामा २३ हजार ९ सय ८३ मत बदर भएको हो । प्रमुखमा नेपालगन्ज उपमहानगरमा बढी बदर देखिएको छ । ६१ हजार २ सय ५ मत खसेकामा १६ हजार २ सय ८१ अर्थात् २६।६० प्रतिशत बदर भएको छ ।

महानगरमा सबैभन्दा बढी भरतपुर महानगरको सदस्यमा मत बदर भएको छ । सदस्यमा १ लाख २७ हजार ४ सय ४० मत खसेकामा ६८ हजार ५ सय ११ मत बदर भएको छ । काठमाडौंमा पनि सदस्यमा खसेको मतमध्ये ५१.३२ प्रतिशत अर्थात् ९८ हजार १९ मत बदर भएको छ । विराटनगरमा पनि सदस्यमै बढी बदर देखिएको छ । विराटनगरमा सदस्यमा खसेको ८९ हजार ३ सय ९६ मतमध्ये ४२ हजार १ सय ९९ मत बदर भएको छ । महानगरको प्रमुखमा सबैभन्दा बढी विराटनगर महानगरपालिकामा देखिएको छ । विराटनगरको प्रमुखमा ८९ हजार ३ सय ९६ मत खसेकामा २१ हजार ३ सय ५८ मत अर्थात् २३.८९ प्रतिशत बदर भएको हो । वीरगन्ज महानगरमा ९३ हजार ७ सय २८ मत खसेकामा २० हजार १ सय ९१ मत बदर भएको छ । काठमाडौंको प्रमुखमा १ लाख ९० हजार ९ सय ६२ मत खसेकामा ३१ हजार ५६ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । भरतपुरमा प्र्रमुखले पाएको मतको १५।६६ प्रतिशत अर्थात् १९ हजार ९ सय ९१ मत बदर भएको छ । पोखराको प्रमुखमा खसेको मतको १४.५२ प्रतिशत अर्थात् २० हजार मत बदर भएको छ । ललितपुर महानगरमा अन्यत्रको तुलनामा सबैभन्दा कम १२ प्रतिशत ९१० हजार ३ सय ९० मत० मात्रै बदर भएको छ ।

वीरगन्ज महानगरको उपप्रमुखमा ९३ हजार ७ सय २८ मत खसेकामा ४३ हजार ७ सय ३३ अर्थात् ४६.६५ प्रतिशत बदर भएको छ । वीरगन्जमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका थिए । एमाले र लोसपाबीच तालमेल थियो । उपप्रमुखमा १० जना उम्मेदवार थिए । कांग्रेसका इम्तियाज आलम ३० हजार ७८ मत ल्याएर विजयी भए । त्यस्तै विराटनगरको उपप्रमुखमा ८९ हजार ३ सय ९६ मत खसेकामा ३४ हजार १ सय ६७ अर्थात् ३८।२१ प्रतिशत बदर भएको छ । विराटनगरमा गठबन्धनबाट प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपाका उम्मेदवार थिए । प्रमुखमा कांग्रेसका नागेश कोइराला ३० हजार १ सय ७० मत पाएर विजयी भए भने उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले जितिन् । जसपाका अमरेन्द्र यादवले कार्कीको भन्दा झन्डै ११ हजार मत कम पाए ।

भरतपुरमा उपप्रमुखमा ४२ हजार ७ सय ८२ अर्थात् ३३.५१ प्रतिशत मत बदर भएको छ । भरतपुरमा माओवादी र कांग्रेसबीच तालमेल थियो । अर्कोतर्फ एमाले र राप्रपा मिलेर निर्वाचनमा भाग लिएका थिए । कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल रहेको काठमाडौं महानगरको उपप्रमुखमा पनि ६१ हजार ९ सय ८७ अर्थात् ३२।४६ मत बदर भएको छ । उप्रमुखमा १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो । ललितपुरमा प्रमुखमा भन्दा उप्रमुखमा दोब्बर मत बदर भएको छ । ललितपुरमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले ४२ हजार ७ सय २२ मत ल्याएर विजयी भए । उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्यले माओवादीका उम्मेदवार बाबुरत्न वज्राचार्यभन्दा सात हजार बढी मत ल्याएर जितिन् । पोखरामा प्रमुख र उपप्रमुखको बदर उस्तै छ । प्रमुखमा २० हजार ७ सय ८१ ९१४।५२० प्रतिशत बदर रहेकामा उपप्रमुखमा १९ हजार ६ सय ७२ ९१३।७४० मत बदर भएको छ । पोखरामा एकीकृत समाजवादी र कांग्रेसबीच तालमेल थियो । प्रमुखमा समाजवादीका धनराज गुरुङले जिते भने उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले जितिन् । पोखरामा सबैभन्दा बढी सदस्यमा १६।२६ प्रतिशत बदर भएको छ ।

७ सय ५२ पालिकामा भएको निर्वाचनमा १३ हजार ४ सय ८४ सदस्यमा छनोट गर्न भएको निर्वाचनमा १ करोड २५ लाख ७१ हजार ६८ जनाले मतदान गरेकामा ३८ लाख ३७ हजार ५ सय ५४ अर्थात् ३०।५२ प्रतिशत मत बदर भएको छ । १ सय ६१ पालिकाको सदस्यको मत ३० प्रतिशतभन्दा बढी बदर भएको छ । सात पदमध्ये सदस्यमा सबैभन्दा बढी बदर देखिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

आयोगको प्रारम्भिक तथ्यांकअनुसार प्रमुखमा खसेको मतको ११.३३ प्रतिशत, अध्यक्षमा ९.६९ प्रतिशत, उपप्रमुखमा १८.२२ प्रतिशत, उपाध्यक्षमा १४.०७ मत बदर भएको छ । वडाध्यक्षमा ८.२५ प्रतिशत, महिला सदस्यमा १२।८० प्रतिशत, दलित महिलामा १४।६४ र सदस्यमा सबैभन्दा ३०।५२ प्रतिशत बदर भएको छ । पूर्ण बदर भने ३ लाख १ हजार ५ सय ९९ अर्थात् २.४ प्रतिशत भएको प्रारम्भिक विवरण आएको प्रवक्ता पौडेलले बताए ।

मत बदर हुनुको कारण

मतदाता शिक्षा नभएको र मतपत्रको लहर लामो भएकै कारण बदर बढी भएको हुन सक्ने आयोगले आकलन गरेको छ । स्थानीय तह निर्वाचनमा एउटा मतपत्रबाट ७ जना छनोट गर्नुपर्ने थियो । मतपत्रमा उल्लेख भएको छैटौं मतपत्रबाट दुई जना वडा सदस्य छनोट गर्नुपर्ने थियो । यही मतपत्रमा सबैभन्दा बढी बदर देखिएको हो । ‘दुई जना छनोट गर्नुपर्नेमा एक जनालाई मात्रै मत हाल्ने, मत नहाली खाली छाड्ने गरेकै कारण बढी बदर देखिएको हो,’ धादिङको खनियाबास गाउँपालिकामा निर्वाचन अधिकृत भएका गोकुल खड्काले भने, ‘यसपालि मतदाता शिक्षा कमी भएको देखियो ।’

सदस्यमा दुई मत हाल्नुपर्नेमा तीनवटा चिह्नमा छाप लगाउने, आफ्नो उम्मेदवारी नभएपछि खाली छाडेका कारण बदर भएको उनले बताए । ‘यसपालिको मत बदरको आँकडा हेर्दा मतदाता शिक्षाको कमी देखियो,’ उनले भने । आयोगले यसपालि मतदान गर्ने तरिका सिकाएकै थिएन । ‘हात–हातमा मोबाइल भएकाले सन्देश पठाइएको थियो, मतदाता शिक्षाको छुट्टै कार्यक्रम गरिएको थिएन,’ आयोग प्रवक्ता पौडेलले भने ।

गाउँको तुलनामा सहरमा मत बदर हुनुमा मतपत्रको साइज कारण हुन सक्ने उनले बताए । काठमाडौं महानगरमा ६४ लहर मतपत्र थियो । त्यस्तै विराटनगरमा ३२ लहर, वीरगन्जमा ३८, भरतपुरमा ३६, कास्कीमा ३८ लहरको मतपत्र थियो । महानगरमा सबैभन्दा कम ललितपुरमा १९ लहरको मात्रै मतपत्र थियो । मतपत्रकै कारण बदर बढेको हुनाले आगामी निर्वाचनमा प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्षको एउटा र अन्य पाँच पदका लागि अलग्गै मतपत्र छपाइ गर्दा हुन सक्ने सुझाव आएको पौडेलले बताए । ‘एउटैमा धेरै चिह्न हुँदा आफूले मत हाल्ने चिह्न खोज्न गाह्रो भएको हुन सक्छ,’ उनले भने, ‘सहरको मतपत्रमा चिह्न धेरै भयो । मत हाल्दै गयो । बिग्रिएपछि फेरि हान्दा बदर बढी भएको हुन्छ । अध्यक्षरप्रमुख, उपाध्यक्षरउपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यको मतपत्रमा लहरै हाल्दा सदर हुन्छ । एउटै पदमा तलमाथि लगाएमा बदर हुन्छ तर वडा सदस्यको तल, माथि, छड्के जता मत हाल्दा पनि सदर हुने भएकाले पनि सदस्यमा बदर बढी भएको हुन सक्छ ।’

पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सर्वसाधारणमा मतदान गर्ने तरिका थाहा नभएको र दलको उम्मेदवार नभए पनि मतदाताले मत दिएका कारण बदर बढेको बताए । ‘जहाँ उम्मेदवार नै छैन तर त्यहाँ निर्वाचन चिह्न राखिएको छ । दलप्रति आस्था हुनेले उम्मेदवार नभए पनि पार्टीकै चिह्नमा लहरै भोट हालेका छन्,’ उनले भने, ‘उम्मेदवार नभएको ठाउँमा भोट हाल्दा बदर भएको हो । जिल्ला समन्वय समितिको मतपत्र जिल्लामा छापेका थियौं । उम्मेदवार नभएको चिह्न छापेनौं । यसकै कारण बदर भएन ।’

निर्वाचन आयोग र राजनीतिक दलले मतदातालाई भोट हाल्नै नसिकाएकै कारण बदर भएको उनले बताए । ‘निर्वाचन आयोगले यसपालि मतदाता शिक्षाको कुनै कार्यक्रम नै राखेन, उम्मेदवारले पनि मत मागे तर कसरी हाल्ने भनेर सिकाएनन्,’ उनले भने । पर्सामा पनि गाउँमा भन्दा सहरमा बढी मत बदर भएको उनले बताए । ‘गाउँका उम्मेदवारले हरेक घरमा पुगेर सिकाएका कारण बदर हुने प्रतिशत कमी भएको हुन सक्छ,’ उनले भने ।

ईकान्तिपुर बाट

Nabintech