१४ बैशाख २०८१, शुक्रबार
निर्दाेष सहिद सेतुमाथि प्रहार


खजुरास्थित सेतु विक गणतन्त्र प्राप्तिको आन्दोलनमा सशक्तरुपमा सहभागी भइन्। राजनीति चेत नभएकी उनी थिचोमिचो र विभेदका विरुद्ध गणतन्त्र प्राप्तिका लागि २०६२–०६३ को जनआन्दोलनमा होमिइन्। व्यवस्था परिवर्तनका लागि सडक आन्दोलनमा उत्रिएकी उनी ज्ञानेन्द्र चोकको आन्दोलनमा अग्रमोर्चामा थिइन्। आन्दोलन दबाउन राज्यले हर प्रयास गरेको थियो। सोहीक्रममा ज्ञानेन्द्र चोक नजिकै उनलाई अश्रुग्याँस लाग्यो र ढलिन्। केहीबेरअर्थात् २०६३ वैशाख ५ गते उनको मृत्यु भयो। गणतन्त्रका लागि बलिदानी दिएकी सेतुको सम्मानका लागि ज्ञानेन्द्र चोकलाई सेतु विक चोकमा नामाकरण गरियो। जहाँ उनको शालिक राखियो।

शालिक राख्दादेखि अहिलेसम्म यस विषयमा विवाद सिर्जना भएन। कसैले उनको शालिकमा गिद्धेनजरसमेत लगाएनन् बरु संरक्षण गरे। तर, बिहीबार राजावादीको एक समूहले उनको निर्दोष शालिकमाथि हतौडा प्रहार गर्‍यो। पटकपटक सेतु विकको शालिकमाथि हतौडा बजारे। तर शालिक फुटेन। अनि एक युवक शालिकमाथि पुग्छन् र हतौडा बजार्छन्। अनि शालिकको माथिल्लो भागअर्थात निधारनेर शालिक फुट्छ। शालिक फुटे पनि व्यवस्था न फुटोस् भन्ने नेपालगन्जवासीको कामना छ।

सेतु विकको निर्जीव शालिक केही टुटिँदा नेपालगन्जीयाको मन धर्किएको छ। ‘गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यान आहुति दिएको सेतुको के गल्ती थियो ररु,’ यही प्रश्न यहाँको जनजनमा खेलिरहेको छ। सेतु विकमा परिवारको मन धौ सम्हालिन पुगेको छ। नेपालगन्जको धम्बोझीमा राजावादी समर्थकको एउटा समूहले स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्न नपाएको झोकमा नेपालगन्जको न्यूरोडमा रहेको सहिद सेतु विकको शालिकमा तोडफोड गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए। उनले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘२०६२/०६३ जनआन्दोलन–२ की सहिद सेतु विकको शालिकमा गरिएको तोडफोड अराजकताको पराकाष्ठा मात्र होइन परिवर्तित व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार हो,’ उनले भने, ‘व्यवस्था परिवर्तनका लागि गरिएको आन्दोलनका क्रममा सहिद विकले २०६३ साल वैशाख ५ गते सोही ठाउँमा आहुति दिएकी थिइन्। सहिदको सम्मान गर्नुको साटो अराजक र अराजनैतिक ढंगबाट तोडफोड गरेर राजनीतिक तिक्तता पैदा गर्नु पक्कै पनि लोकतन्त्रविरुद्ध कार्य हो भन्ने मेरो ठहर छ।’

स्थानीय प्रशासनले यस्ता अराजक गतिविधि नियन्त्रण गर्न र नेपालगन्जको शान्ति सुव्यवस्था कायम गर्न नेकपा एमाले बाँकेले मागसमेत गरेको छ।

नेपाली कांग्रेस नेपालगन्ज नगर सभापति तथा नेपालगन्जका मेयर प्रशान्त विष्टले यस घटनाप्रति निन्दा गरेका छन्। सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने र आफ्नै मनोमानी ढंगले शालिक स्थापना गर्ने कार्य गलत भएको उनले बताए। यस विषयमा सर्वदलीय र सर्वपक्षीय बैठक हुने उनी बताउँछन्। ‘यहाँ सबै राजनीतिक दलले सामाजिक सद्भाव जोगाइ राखेका थियौं। एकले अर्को दललाई सम्मान र सहकार्य गर्दै आएका थियौं,’ उनी भन्छन्, ‘स्थानीय तहको चुनावपछि राजनीति गर्ने नाममा दूषित राजनीति भयो। यो निन्दनीय छ।’

निर्जीव शालिकमाथि गरिएको त्यो प्रहार गणतन्त्रमाथि भएको नेपालगन्जका डिल्ली चन्दले बताए। ‘धार्मिक सहिष्णुता र सद्भाव बोकेको सुन्दर नगरि नेपालगन्जमा यस्तो कार्य गलत छ,’ उनले भने, ‘सहिदलाई सम्मान गर्नुको साटो उल्टै प्रहार गर्नु व्यवस्था धुजाधुजा पार्नु हो।’

उनी अगाडि भन्छन्, ‘सेतु विकको उद्देश्य कुनै दल वा पार्टी वा व्यक्ति जिताउनु र हराउनु थिएन, राज्यको थिचोमिचो र विभेदको अन्त्य गर्नु थियो। त्यो चाहे व्यवस्था (राजतन्त्र) का विरुद्ध किन नहोस्।’

साभार : nagariknews.nagariknetwork.com बाट

Nabintech