१४ बैशाख २०८१, शुक्रबार
पार्टीभित्र विचार जिउँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ : भुसाल


चितवन। नेकपा एमाले नेता घनश्याम भुसालले पार्टीभित्र सुधारको आवश्यकता महसुस गरी आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन्। सोमबार बिहान उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग भुसालले पार्टीमा गल्तीहरू भएको र त्यसलाई सुधार गरेर सही ठाउँमा ल्याउन आफूले उम्मेदवारी दिएको बताए।

पार्टीका नीति, सिद्धान्तहरू बनाउन आफूले २० वर्षदेखि निरन्तर प्रयत्न गर्दै आएको उनले बताए। ‘पार्टीभित्र सिद्धान्त जिउँदो छ, पार्टीभित्र मार्क्सवाद जिउँदो छ, पार्टीभित्र विचार जिउँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दायर गरेको छु,’ उनले भने।

‘लोकतन्त्र छ, पार्टीमा मार्क्सवाद जिउँदो छ’ भन्नका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ। पार्टीमा गल्तीहरू हुँदै आएको र गल्तीका अरू सम्भावनाहरू पनि रहेकोले त्यसलाई रोक्नुपर्ने उनले बताए। भुसालले पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी रहेको पनि बताए। उनले अगाडि भने, ‘कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पार्टीलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा छ। त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो।’

भुसालले दलाल पूँजीवादले एमाले सिध्याउँदै लगेको पनि दाबी गरे। ‘नेकपा एमाले जत्तिको लोकतान्त्रिक, क्रान्तिकारी पार्टीका शुभचिन्तक परिवर्तनका पक्षमा खडा छन् त्यहीँ भएर जित्छु। एकीकृत पार्टी किन फुट्यो, सरकार किन टिक्न सकेन भन्ने बहस गरेका छैनौं त्यसकै लागि उम्मेदवारी हो’, उनले भने, ‘नवौंमा जुन प्यानल भयो त्यो गल्ती थियो, मैले व्यक्तिगत ढंगले उम्मेदवारी दिएको हो, लोकतन्त्रमा पार्टी कसैको कब्जामा हुँदैन, लोकतन्त्रमा यस्तो देखिनु गलत हो। १० बुँदे भनेर मात्रै नबुझ्दिनु होला, हामी सबै स्वतन्त्र छौ।’

Nabintech