१५ बैशाख २०८१, शनिबार
बाँके कांग्रेस संघीय क्षेत्र अधिवेशन : कडा प्रतिस्प्रर्धाका साथ चुनावी मैदानमा भिड्दैछन नेताहरु


नेपालगञ्ज/बाँकेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भोली शुरु हुँदैछ । भोली उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत अधिवक्ता चित्रबहादुर शाहीले तीन वटै प्रतिनिधिसभा क्षेत्रमा क्षेत्रीय अधिवेशनका लागि भोली मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको बताए ।

बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा भोली एकल उम्मेदवार नपरेका पदहरुमा मंसिर ९ गते निर्वाचन गराउने कार्यक्रम छ । क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति र केन्द्रिय महाधिवेशनका मतदाता संघीय महाविधेशन प्रतिनिधि चयन गरिनेछ । बाँकेमा एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ देखि २७ जना संघीय महाधिवेशन प्रतिनिधि चुनिनेछन् ।

बाँकेको क्षेत्र नम्बर १ मा द्विपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १ मा संस्थापन समूहबाट अहिलेका क्षेत्रीय सभापति माधवराम खत्री प्रतिष्पर्धामा उत्रिँदैछन् । खत्री तेस्रो पटक सभापति बन्ने दाउमा छन् । संस्थापन इतर समूहले भने युवा नेता पोषण केसीलाई उम्मेदवार बनाउने भएको छ ।

क्षेत्र नम्बर २ मा पार्टी सभापति शेरबहादुर देउबा पक्षीय दुई नेता नै सभापतिमा प्रतिष्पर्धा गर्दैछन् । अहिलेका क्षेत्रीय सभापति रमेशकुमार गुप्ता र नेपाल तरुण दल बाँकेका अध्यक्ष तथा वडा नम्बर १३ का वडा अध्यक्ष विरेन्द्र शाहबीच प्रतिष्पर्धा हुँदैछ ।

नेताहरुका अनुसार क्षेत्र नम्बर ३ मा नक्की खाँ निर्विरोध हुने करिब करिब पक्का जस्तै छ । उनी अहिलेका पनि क्षेत्रीय सभापति हुन् । संस्थापन पक्षका उनी नै फेरि क्षेत्रीय सभापति निर्विरोध हुने बताइन्छ ।

Nabintech