२१ बैशाख २०८१, शुक्रबार
नेपालगन्जमा दुर्गा मूर्ति शान्तिपूर्ण तरिकाले विसर्जन


बडादसैको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरु विसर्जन कार्य शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । नेपालगन्जमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदीमा लगेर सेलाउने काम गरिएको हो ।

ट्रक, ट्रालीलगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ बाजागाजासँगै बैण्डबाजा बजाएर नाचगान गर्दै राप्ती नदीमा विसर्जन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपालज क्षेत्र बाट बुधबार सबै मूर्ति लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइएको छ भने कोहलपुर क्षेत्र बाट अघैया घाटमा बिर्सजन गरिएको हो ।
घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पुजापाठ गरी दसैंको भोलिपल्ट अर्थात आज सेलाउने परम्परा रहेको छ ।

दुर्गा भवानीको मूर्ति विसर्जन रैली मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सक्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मूर्ति स्थपना गरिएको अनुमान छ । नेपालगन्जमा मात्र ५६ वटा मूर्ति पूजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ।

दुर्गा मूर्ति विसर्जनलाई सहज र मर्यादित बनाउन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

केहि दिन अघि भएको घटनाबाट पाठ सिकेर ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै सदरलाइन, त्रिभुवन चोक, त्रिवेणी मोड, राप्ती रोड, घरबारी टोल, विपि चोक लगायतका स्थानमा व्यापक प्रहरी परिचालन गरिएको थियो ।

मुर्ति विसर्जनका क्रममा आयोजना गरिएका र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन प्रहरीले नगरका विभिन्न भागमा ड्रोन मार्फत अवलोकन गरेको थियो । सुरक्षास्थितिको बारेमा बुझ्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाष चन्द बोहरा, जिल्लास्थित नेपाली सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख समेत फिल्डमा खटिएका थिए ।

विजयादशमीको भोलिपल्ट एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने र्‍यालीलाई मध्यनजर गरी र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन आज जिल्लाभर मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरेको थियो ।

Nabintech