२२ बैशाख २०८१, शनिबार
बडादसैं , आज घटस्थापना


हिन्दूहरूको महान चाड बडादसैं आज ९आइतबार०देखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैंको नवरात्रको आज पहिलो दिन । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोपिन्छ ।

जौ अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ । शारदीय नवरात्रलाई नौरथा, नवरात्र वा बडादसैं पनि भनिन्छ । नवरात्रको पहिलो दिन घटस्थापना गरेर जमरा राखेसँगै बडादसैं वा नवरात्र सुरु भएको मानिन्छ । नवरात्रमा खासगरी शक्तिकी देवी नवदुर्गा ९शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री० लाई महाकाली, महालक्ष्मी र महासरस्वतीको स्वरूप मानेर पूजा गरिन्छ ।

दुर्गाका नौवटा रूपको फरक फरक विधि र पूजा सामग्री अर्पण गरी पूजाआराधना गरिने भएकाले नवरात्र भनिएको शास्त्रमा उल्लेख छ । हिन्दु समाजमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन बडादसैं मनाउने गरिएको छ । घटस्थापनाका दिन घर वा सामूहिक देवीघरमा माटाको वा तामाको घट ९घडा, कलश० शुद्ध वा पवित्र स्थानको बालुवा फिजाई घट स्थापना गरिन्छ र घटको वरिपरि गोबर टाँसेर भिजाइएको जौ राखिन्छ ।

जौसँगै मकै, गहँु, धान लगायत अन्न मिसाएर पनि राख्ने गरिएको पाइन्छ, जसलाई जमरा राख्नु पनि भनिन्छ । जमरालाई प्रत्येक दिन बिहान–बेलुका नवदुर्गाको पूजा गरी जल चढाउने गरिन्छ । यस दिन पूजास्थलमा आसन ओच्छ्याएर पूर्व वा ईशान कोणतर्फ फर्किएर प्रतिज्ञा सङ्कल्प गरी दियो, कलश र गणेशको पूजा गर्नुपर्ने शास्त्रीय विधान छ । तामाको थालीमा केशरले षट्कोण वा अष्टदल कमलको आकार तयार पारेर त्यसमा ‘नवाक्षरस्य मन्त्रस्य बीजानि विलिखेत्ततः’ अर्थात् नवाक्षर मन्त्र ९बिज मन्त्र० लेखी नवदुर्गाको पूजा गरिन्छ ।

साथमा दुर्गाको मूर्ति वा तस्बिर पनि राखिन्छ । सकेसम्म नौवटै घडा राखी ती घडामाथि तामाको थालीमा प्रत्येक दिन नौवटै दुर्गाका स्वरूपको पूजा गर्नुपर्ने मान्यता रहेको छ । साथै दुर्गा भवानीको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गर्नु भनिएको छ । दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ ९नवार्ण मन्त्र० १०८ पटक जपी नवरात्रभर प्रत्येक दिन दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने, प्रत्येक दिन १०८ हवन र कन्यापूजा गर्नुपर्ने देवीभागवतमा उल्लेख छ ।

घटस्थापनाका दिन ‘शैलपुत्री’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ । सत्ययुगमा आदिशक्ति सतीदेवीले पर्वतराज हिमालय ९शैल०की पुत्री पार्वतीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा उल्लेख छ । शैलपुत्रीको दाहिने हातमा त्रिशूल, देब्रे हातमा कमल, निधारमा अर्धचन्द्र रहेको छ । नन्दी ९साँढे० लाई वाहन बनाएकी उनलाई सती, पार्वती, वृषारुढा, हेमवती, भवानी आदि नामले पनि पुकारिन्छ ।

साधकहरूका लागि मूलाधार चक्रमा केन्द्रित भई ॐ ऐं ह्रीं क्लीं शैलपुत्रयै नमः’ वा ‘ॐ देवी शैलपुत्रयै नमः’ भनेर जप गर्नुपर्ने विधि बताइएको छ । शैलपुत्रीलाई वैज्ञानिक रूपमा सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा लिइन्छ । यस दिन दुई वर्षकी कन्यालाई ‘कुमारीदेवी’ को नामले पूजा गनुपर्ने विधान छ । उनको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ ।

यसरी घटस्थापनाका दिन विधिपूर्वक राखिएका जमरा नवरात्रको भोलिपल्ट विजया दशमीका दिन देवी विसर्जन गरी ठूलाबडाको हातबाट टीकासँगै लगाउने र आशीर्वाद लिने चलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा रहेको बताएको छ । साथै समितिले चित्रा नक्षत्र र वैधृति योग परेकाले चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

Nabintech