२१ बैशाख २०८१, शुक्रबार
बाँकेमा आजदेखि टिभीआरएस लागु


तपाई सवारी चलाउँदै हुनुहुन्छ ? सवारी चलाउने क्रममा ट्राफिक नियम उल्लंघन गर्नुभयो र? तपाई होसियार बन्नुपर्नेछ । किनकी अब तपाईले ठाउँका ठाउँ जरिवाना नतिरी सुखै छैन ।

बाँकेमा ट्राफिक प्रहरीले आजदेखि ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम (टिभीआरएस) सप्टवेयर प्रणाली लागु गर्ने भएपछि ट्राफिक नियम उल्लंघन गर्ने सवारी धनीले ठाउँका ठाउँ जरिवाना तिर्नुपर्नेछ ।

यसअघि सवारी नियम उलङघन गर्दा नगद तिरेर रसिद काट्नुपथ्र्यो भने अब सवारी नियम उलङ्घन गर्ने सवारी चालक धनीलाई ट्राफिक जरिवाना अब नगदमा नभई सिधै बैकिङ्ग प्रणालीमार्फत रकम भुक्तानी गर्नुपर्नेछ ।

‘अब ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिन्छौं । आजदेखि सवारी धनीले अनलाइनबाट ट्राफिक पुलिस फाइन पेमेन्ट शीर्षकमा भुक्तानी गर्नुपर्नेछ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक तिलक सुनारले भने ।

नगद जरिवाना लिदा ट्राफिक प्रहरीलाई केही चालकहरुले घुस लिएको, नियमभन्दा बढी रकम लिएको आरोप लगाउँदै आएका थिए । उक्त आरोपबाट मुक्त हुन अब ट्राफिक प्रहरीले नगदमा जरिवाना नभई बैंकिङ्ग प्रणालीबाट मात्रै जरिवाना तिराउनेछ ।

प्रहरी निरीक्षक सुनारले सवारी दुर्घटना, मापसे, लापसे र ट्राफिक नियम उल्लंघन गरेवापत संकलन हुने राजस्व अब सिधै बैंकमा जम्मा हुने बताए । ‘अब राजस्वका लागि रसिद काट्नु पर्दैन, राजस्व सिधैं बैंक खातामा जम्मा हुन्छ,’ उनले भने ।

बाँकेमा कोहलपुर, नेपालगन्ज र चिसापानीमा पोष्टबाट ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक कारवाहीमा परेपछि अनलाइन (इसेवा, फोन पे, कनेक्ट आइपीएस र मोबाइल बैंकिङ्ग) प्रणालीमार्फत रकम जम्मा गर्न सकिनेछ ।

प्रहरी निरीक्षक सुनारका अनुसार सथै ट्राफिक प्रहरीको अनलाइनबाट भुक्तानी गर्न इच्छुक नभए राष्ट्रिय वाणिज्य बैंकमा भौचरमार्फत रकम भुक्तान गरी सम्बन्धीत कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सक्ने छन् ।

साथै मापसे र लापसेमा परेका ब्यक्तिहरुले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने सचेतना कक्षामा अनिवार्य सहभागिता हुनुपर्नेछ । उक्त कक्षा दैनिक बिहान ८ बजे सञ्चालन हुँदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।

टिभिआरएस प्रणाली लुम्बिनी प्रदेशका बाँके, दाङ र रुपन्देही जिल्लामा आजदेखि सुरु भएको छ । जसले गर्दा ट्राफिक प्रहरीको कार्यालयमा पुग्नुपर्ने बाध्यताबाट सवारी चालकहरु मुक्त हुने ट्राफिक प्रहरीको भनाई छ ।

Nabintech