२२ बैशाख २०८१, शनिबार
फुटबल खेलाडी दिपक सिंह ठकुरी आफ्नै पालिकामा नगद सहित सम्मानित 


खजुरा गाउँपालिका वडा नम्बर २ का नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी दिपकसिंह ठकुरीलाई खजुरामा नगद सहित सम्मान गरिएको छ ।

खजुरा गाउँपालिका र खजुरा गाउँपालिका खेलकुद बिकास समितिले ठकुरीलाई नगद रुपैयाँँ २५ हजार सहित सम्मान गरेको हो ।

खजुरा गाउँपालिका खेलकुद बिकास समितीले एक औपचारिक कार्यक्रम गर्दै पालिका परीसरमा खजुरा गाउँपालिकाबाट राष्ट्रिय फुटबल टिममा पर्न सफल खेलाडी ठकुरीलाईर उत्कृष्ट खेल प्रदर्शन गर्दै जिल्ला र पालिकाको नाम राख्न सफल भएकोमा सम्मान गरिएको खेलकुद बिकास समितीका अध्यक्ष छवि बिष्टले जानकारी दिएका छन् ।

कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले खेलकुद मार्फत जिल्ला र खजुराको नाम राखेकोमा राष्ट्रिय खेलाडी ठकुरीलाई धन्यवाद दिदै आगामी दिनमा अझै प्रगती गर्न भनेका थिए भने खजुरा गाउँपालिका सधै खेलाडीको साथमा रहेको जिकिर गर्दै खेलकुद र खेलाडीको बिकासको लागी पालिकाले उचित कदम चाल्ने बताएका थिए ।

सम्मान कार्यक्रममा पालिका उपाध्यक्ष मन्जु मल्ल, खेल पत्रकार टिएस ठकुरी, खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनिराम ओली लगायतको सहभागीता रहेको थियो ।

त्यस्तै आज नै नेपालगन्ज जेसीजले बाँकेबाट नेपाली राष्ट्रिय टिमामा प्रतिनिधित्व गर्दै बाँकेलाई फुटबल क्षेत्रमा चिनाएको भन्दै ठकुरीलाई नगद रु १० हजार रकम , सम्मानपत्र र खादा दोसल्ला ओडाएर सम्मान गरेको थियोे ।

Nabintech