२१ बैशाख २०८१, शुक्रबार
वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज छ : प्रहरी महानिरीक्षक कुँवर


प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए ।

महानिरीक्षक कुँवरले साधन श्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताए । उनले जिल्लाबाटै साइबर अपराधको मुद्दा निक्र्यौल गर्ने सरकारले निर्णयले थप सहयोग पुगेको बताए । प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिलेपनि अन्य निकायबाट भने अनुसारको सहयोग नपाएको गुनासो गरे । उनले प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरु कार्यान्वयनका लागि तयार रहेको बताए ।

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८०को गत तीन महिनामा ( चैत्र १५ देखि असार १५ सम्म) तुलना गर्दा गत आ.व. २०७८र०७९ को भन्दा चालु आर्थिक वर्षका तीन महिनामा ११.१५ प्रतिशत बढी पक्राउ परेको र ११.२२ प्रतिशत दर्ता बढेको बताएको छ । चालु गत तीन महिनामा ३ हजार ५६२ जना फरार अपराधी पक्राउ परेका छन् । प्रहरीका अनुसार चैत्र १५ देखि असार १५ सम्म गाँजा ६ हजार ९६१.६१ केजी गाँजा, १७९केजी चरेश, ४.२५ केजी हेरोइन र ४.९८ केजी अफिम बरामद भएको छ ।
लागुऔषध ब्युरोद्वारा सञ्चालिन विशेष अपरेशनमा रात्रि क्लब, मनोरञ्जन गृह तथा ट्रान्स पार्टीहरुमा प्रयोग हुने एलएसडी १० हजार १३१ पिससहित ५ जना विदेशी, ७ जना नेपाली समेत १२ जना चालु आर्थिक वर्षको चैत्र १५ देखि असार १५ गतेसम्म पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, विद्युतीय सट्टा बाजी, सहकारी ठगी लगायतका प्रकरणको कारबाही अघि बढेको प्रहरीले जनाएको छ । तीन महिनाभित्र ६ हजार ४२० सवारी दुर्घटना, ५८१ मृत्यु, गम्भीर घाइते १ हजार ६२७, साधारण घाइते ६ हजार ७२१, कारबाही ७ लाख ३६ हजार ४७० र राजश्व संकलन ५६ करोड ४६ लाख ५४ हजार २ सय भएको छ ।

अवैध सामान बरामद, चोरी पैठारी नियन्त्रण, भन्सार चोरी निकासी, अवैध मुद्रा र हुण्डी बरामद जस्ता विभिन्न माध्यमबाट १ अर्ब ५९ करोड ६२ लाख ८२ हजार १७७ रुपैयाँ राजश्व संकलन भएको छ । विपद् व्यवस्थापनका लागि तत्काल परिचालन हुनसक्ने गरी उपलब्ध उद्धार सामग्रीहरुसहित १० हजार ८५ जना प्रहरी २४ सै घण्टा उपलब्ध गराइएको बताएको छ ।

उपत्यका तथा प्रदेश प्रहरी कार्यालयबाट सुरु गरिएका नयाँ कार्यक्रममा सुरक्षित उपत्यका अभियान, कोशी प्रदेशमा पीडित पुनः भेटघाट कार्यक्रम, मधेसमा अल्पसंख्यकसँग प्रहरी, बागमतीमा स्मार्ट प्रहरी कन्ट्रोल रुम, गण्डकीमा हिरासत व्यवस्थापन अधिकृत, लुम्बिनीमा आत्महत्या न्यूनीकरण अभियान, कर्णालीमा घरघरमा स्टिकर टाँस, निःशुल्क निवेदन लेखन र सहजीकरण, नागरिक सहजकर्ता प्रहरी परिचालन र सुदूरपश्चिम प्रदेशमा लागुऔषधबिरुद्ध महाअभियान सुरु गरिएको जनाएको छ ।

Nabintech