२६ बैशाख २०८१, बुधबार
मेरै कार्यकालमा बैजनाथका मुख्य सडकहरू धुलो रहित बनाइने छ : अध्यक्ष प्रकाश बहादुर शाही

कृषि , पर्यटन , शिक्षा र स्वास्थ्य प्राथमिकतामा छन 



स्थानीय निर्वाचन भएको एक वर्ष पुरा भएको छ । एक वर्ष पुरा भएको सन्दर्भमा बैजनाथ गाँउपालिकाले  १ वर्षमा गरेका गतिविधि तथा भावी योजना सहित पालिका अध्यक्ष प्रकाशबहादुर शाहीसँग गरिएको कुराकानी :
१. स्थानिय सरकार सञ्चालनको वर्षको अवधि कस्तो रह्यो ?
यो वर्ष हामीले धेरै योजनाहरू नीति बनाएर कार्यान्वयन गरेको छौ । यस अघिको स्थानीय सरकारले ल्याएका योजनाहरू पनि निरन्तरतामा छन । विशेष गरेर हामीले हिजोका दिनमा बैजनाथ लाई धुलोरहित हुने छ भन्ने अवधारणा अगाडि सारेको थियौ । त्यसैले १ वर्षको हाम्रो कार्यकालमा ४ हजार २ सय ५० मिटर सडक कालोपत्रे गरिएको छ । बैजनाथ १, २, ३, ४ हुँदै च्यामा जिरो पोइन्ट देखि गाउँपालिकासम्म रिङरोडको अवधारणा अगाडि सारेका छौ । कतिपय योजनाहरू सम्पन्न भई सकेको अवस्था छ भने कतिपय योजनाहरूका लागि संघ र प्रदेश सँगको सहकार्यमा अगाडि बढाउदै छौ । हामीले १४ हजार ४ सय ७६ मिटर बाटो स्तरोन्नति सहित पक्की नली निर्माण गरेका छौं ।१७ वटा विद्यालयहरूमा भवन निर्माण भएका छन् । १८ हजार ५ सय मिटर नयाँ बाटो खोल्ने काम पनि गरेका छौं । सिँचाइ कुलो २ सय ४३ मिटर, ९ वटा कल्र्भट , विभिन्न धार्मिक स्थानमा १८ योजनासहित काम सम्पन्न गरिसकेको अवस्था छ । हामीले बैजनाथ ३ र ४ जोड्नका लागि ३ करोड ७० लाखको टेन्डर भई सकेको अवस्था छ । त्यस्तै हामीले बैजनाथ ५, ७ र कोहलपुर १५ जोड्ने पेडारी नालामा पुल निर्माणका काम अगाडि बढाएका छौ ।
२. जन गुनासो के  पाउनु भो ?
वास्तवमा स्थानीय सरकार भनेको छाम्दा भेटिने, बोल्दाखेरी सुनिने र हेर्दाखेरी देखिने होस भन्ने जन चाहना  छ । जनतासँग प्रत्यक्ष सम्पर्कमा हुने भएकाले धेरै आफ्ना  सबै  आवश्यकताहरू पुरा हुनु पर्छ भन्ने सर्व साधारणको बुझाई छ । हामी पनि सोही अनुसार निती र विधिको पालना गर्दै जनमुखी र पारदर्शी स्थानीय सरकार सञ्चालनको अभ्यास गरि रहेका छौ ।
३. बैजनाथ का प्राथमिकताहरू के के हुन ?
हामीले शिक्षामा पनि जोड दिएका छौं । हामीले बैजनाथ लाई शैक्षिक हब बनाउनु पर्छ भनेर प्रत्येक विद्यालयमा अनुगमन गर्दै शिक्षक र विद्यार्थीको अनुपातमा शिक्षक नभएको स्थानमा शिक्षक दरबन्दी गरेको अवस्था छ । जुन विद्यालयमा बच्चाहरू नै छैनन् । त्यस्ता विद्यालयलाई मर्ज गर्नु पर्छ भनेर अगाडि बढेको अवस्था छ । यहाँ जनघनत्व बढी भएकाले सामुदायिक क्याम्पसको अवधारणालाई अघि बढाउनु सुप्रभात बहुमुखी क्याम्पस बनाउन सर्वदलीय बैठक बसेर निर्णय गरिसकेका छौं । कुन ठाउँमा बनाउने भन्ने छलफलको प्रक्रियामा हामी छौं । तीन वर्षे प्राविधिका कक्षाको अवधारण पनि अघि बढेको छ । एक वार्ड एक नमुना विद्यालय बनाउनु पर्छ भनेर अघि बढेको अवस्था छ । कृषिमा पनि किसानहरूलाई उत्पादनका पाटाहरूमा जोडेर आर्थिक वृद्धि गर्न ‘किसानसँग पालिका प्रमुख’ कार्यक्रम ल्याएका छौ । यसका लागि तत्काल हाम्रो खाद्य डिपो निर्माणका लागि डिपिआर भई सकेको छ । हरेक वडामा एक तरकारी संकलन केन्द्र स्थापना गर्ने सोच छ ।  गरिब किसान हरू को छनौट गरि उनीहरू लाई किसान कार्ड वितरण गर्ने सोच छ । किसानहरूका लागि पालिकाले विभिन्न सामग्री वितरण गर्ने गरेको छ । किसानहरूले आफूले उत्पादन गरेको वस्तुहरू बजारसम्म लैजानका लागि अटो रिक्सा ७० प्रतिशत अनुदानमा दिने निती लिएका छौ । यसमा साइकल, बीउ प्रसोधन मेसिन, मकै छोडाउने, घाँस काट्ने मसिन दिने कुराहरू छ । बैजनाथ मा रहेका ७० प्रतिशत किसानहरूको आर्थिक समृद्धि गर्ने योजनासहित ‘किसानसँग पालिका प्रमुख’ कार्यक्रम ल्याएका हौं । ‘किसानसँग पालिका प्रमुख ’का लागि हामीले ०७९/८० मा ३ करोड रुपैयाँ विनियोजन गरका थियौ । सोही अनुसार हामिले ४२ जना कृषकलाई  मेसिनरी उपकरण र पूर्वाधार निर्माणमा सहयोग गरेका छौं । बैजनाथ गाउँपालिकाको ८ मा थपुवा माध्यमिक विद्यालय छ । उसको आफ्नो २९ बिघा जग्गा छ । यसमा सरकारले ल्याएको पढ्दै कमाउँदै अवधारणालाई, त्यो विकासका पूर्वाधारले पछि परेको थारू समुदाय भएकाले यो नीति त्यहाँ लागू गर्दा पक्कै पनि हामी सफल हुन्छौं भन्ने उद्देश्यले डिपिआर बनाइएको छ । अहिले १ करोड रुपैयाँ विशेष अनुदानबाट आइसकेको अवस्था छ
४.सुशासन कायम गर्न के प्रयास गर्नु भएको छ ?
सुशासनका क्षेत्रमा हामीले पहिलो त बजेट निर्माणका चरणहरूलाई विधि पालना गरेका छौ । गाउँ भेला, टोल भेला वाट योजनाहरू माग गर्ने गरेका छौ । उहाँहरु आफैँले बजेट छनौट गरेर पठाउनु हुन्छ । त्यसमा उपभोक्ता समिति बन्दाखेरी पनि ३३ प्रतिशत महिला उपभोक्ता समितिमा अनिवार्य राख्नु पर्ने नियम छ । सुशासन भनेको तलैदेखि जोडिँदै जाने कुरा हुन् । आर्थिक अपारदर्शीका लागी सार्वजनिक सुनुवाइ , सार्वजनिक लेखा परिक्षण नियमित गरेका छौ ।
५.आगामी वर्षका प्राथमिकताहरू के के हुन ?
 हामीले १५ शैया को अस्पताल , बैजनाथ गाउँपालिकामा गर्भवती महिला, ज्येष्ठ नागरिक, रातो कार्ड पाएका अपांग व्यक्तिलाई निःशुल्क सेवा सहित ३ वटा एम्बुलेन्स सञ्चालन गरिसकेको अवस्था छ । बैजनाथ मा ९ सय ३४ भूमिहीन दलित , १ हजार ६ सय ६४ जना भूमिहीन सुकुम्बासी र ७ हजार ७ सय ६४ जना अव्यवस्थित बसोवासी लाई जग्गा धनी प्रमाण पुर्जा वितरणको प्रक्रिया अगाडि बढेको छ । बैजनाथ मा भएका पार्कहरु लाई जोडेर पर्यटकीय करिडोर बनाउने सोच छ । बैजनाथ मा निर्माण गरिने औद्योगिक काम लाई अगाडि बढाउने सोच छ । मानखोला तटबन्ध , खानेपानी लगायतका समस्या समाधान लाई यस  वर्ष प्राथमिकतामा राख्दै छौं ।

Nabintech