२३ बैशाख २०८१, आईतवार
गौरव स्मृति तथा वि योर फाउण्डेसनले गर्यो स्व.पत्रकार सापकोटा लाई मरणोपरान्त सम्मान 


गौरव स्मृति तथा वि योर फाउण्डेसनले शुक्रबार विभिन्न ब्यक्तिलाई सम्मान गरेको छ । स्मृति दिवसको अवसरमा फाउण्डेसनको साधारण सभा तथा अधिवेशनका साथै सम्मान कार्यक्रम गरिएको हो ।

स्वर्गीय पत्रकार लक्ष्मणराज सापकोटालाई फाउण्डेसनले मरणोपरान्त सम्मान गरेको छ । स्वर्गीय सापकोटाकी पत्नी देवकी सापकोटालाई नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएको हो । पत्रकारितामा सक्रिय सापकोटाको गतवर्ष निधन भएको थियो । विपन्न परिवारका सापकोटाका छोरा छोरीको शिक्षा दिक्षामा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको गौरव स्मृति तथा वि योर फाउण्डेसनका संरक्षक प्रदीप साहुले बताए । सापकोटा प्रेस सेन्टर बाँकेका सदस्य हुन भने उनले कोहलपुरमा रहेर कलम चलाउने गरेका थिए । 

यस्तै फाउण्डेसनका आजीवन सदस्यलाई सदस्यता प्रमाण पत्र वितरण गरिएको छ । फाउण्डेसनले समाज सेवामा योगदान गरेको भन्दै पाँच जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा समाजसेवी माधवराम बर्मा, साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, तोजेन्द्र बि।क र औषधी व्यवसायी जीवन शर्मालाई सम्मान गरियो । यसैगरी फाउण्डेसनले ५ जना सदस्यलाई आजीवन सदस्यता प्रदान गरेको छ । नेपालगन्जका निर्मल साह, राजकुमार लोध, रमन ओली, रितेश कुमार शर्मा बढई तथा पवन जयसवाललाई आजीवन सदस्यता प्रदान गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वर्गीय गौरवको भौतिक उपस्थिति नरहेपनि समाजमा उनले गरेको मानवीय सहायताको कामको अमिट छाप अझैपनि बाँकी रहेको बताए । यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले संस्थाको साधारण सभालाई निरन्तरता दिन आग्रह गर्दै गौरवले सुरु गरेको समाज सेवाको यात्रा निरन्तरताका लागि आफ्नो साथ र समर्थन रहने बताए ।

फाउण्डेसनका कार्यवाहक अध्यक्ष मधु शाहको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा प्रेस सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले ,नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, युनियन बाँकेका पूर्वअध्यक्ष नरेन्द्र थापा, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य जावेद हलवाई, औषधी व्यवसायी संघ बाँकेका सचिव जीवन शर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतले बोलेका थिए ।

उक्त कार्यक्रम सञ्चालन तोजिन्द्र बिकले गरेका थिए । फाउण्डेसनले स्मृति दिवसकै अवसरमा शुक्रबार बिहान बागेश्वरी मन्दिर परिसरका असहायलाई खाना खुवाउनुका साथै सरस्वती माविमा रहेका ३४ जना अटिजम भएका बालबालिकालाई सहयोग हस्तान्तरण, बेलुका विपी चोकमा दीप प्रज्वलन कार्यक्रम गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ निवासी गौरवको २०७८ असार १ गते निधन भएको थियो । फाउण्डेसनका संरक्षक प्रदीप साहुले गौरवको नाममा ८ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेर सामाजिक कार्यलाई निरन्तरता दिइएको बताए ।

Nabintech