२७ बैशाख २०८१, बिहीबार
बाँकेमा हात्तिपाइले रोग विरुद्धको औषधी ६ लाख भन्दा बढीलाई खुवाइँदै


बाँकेमा हात्तिपाइले रोग विरुद्धको औषधी सेवन अभियान यही फागुन ११ गतेदेखि सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले बुधवार नेपालगन्जमा आयोजना गरेको जिल्ला स्तरीय पत्रकार अन्तरिक्रया कार्यक्रममा अभियानको तयारीबारे जानकारी गराइएको छ।
बिगत १२ बर्ष देखि हात्तिपाइले विरुद्धको अभियान सन्चालन गरिएको र यो पटक जिल्लामा ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेकी हात्तिपाइले रोग फोकलपर्सन दुर्गा गौतमले जानकारी दिएकी छन । बाँके हात्तिपाइले रोगको उच्च जोखिममा रहेकाले लक्षित समूहका सबै व्यक्तिहरुलाई औषधी सेवन गर्न उनले आग्रह गरेकी छिन् ।
उनले मिडियाकर्मिहरुलाई हात्तिपाइले रोगको कारण निम्ताउने समस्याबारे आम सर्वसाधारण व्यक्तिहरुले बुझ्ने गरि समाचार सम्प्रेषण गरिदिन आग्रह समेत गरेकी छिन् । उनले कार्यक्रमको बारेमा बृफिङ गर्दै नेपालगन्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधी खुवाउने लक्ष्य रहेको र जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको बताएकी छन। नेपालगन्ज उपमहानगरपालिकामा ५० प्रतिशत मानिसले मात्रै औषधि खाएको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ ।
त्यसैगरी कोहलपुरमा ७८ र डुडुवामा ७८ खजुरामा ७६, राप्तीसोनारीमा ७३ , बैजनाथमा ७३ नरैनापुरमा ७४ प्रतिशतले औषधि सेवन गर्दा जानकी गाउँपालिकामा भने ८० प्रतिशतले औषधी सेवन गरेका थिए । खानेले औषधी खाइरहने र नखानेले औषधी नखाइ दिने गरेका कारण बाँकेमा हात्तिपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन । जसले औषधि सेवन गर्दैन त्यसकै कारण औषधी खाने मानिसहरु पनि हात्तिपाइलेको जोखिममा पर्ने गरेका छन् ।
बाँकेमा आर्थिक वर्ष २०६७(०६८ बाट हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको हो । उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । पहिलो वर्ष भएको केही असावधानी र वास्तविकता बुझाउन नसक्दा भएको दुर्घटनाले त्यसपछि औषधी सेवनको कभरेज घट्दै गएको हो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधी सेवन गरेका थिए । स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले हात्तिपाइले रोगविरुद्धको अभियानलाई प्रभावकारी गराउन मिडियाकर्मी, जनप्रतिनिधि, राजनीतिक दल तथा बुद्धिजीवि सबै वर्गको रहेकाले यो अभियानलाई सफल बनाउन आग्रह गरेकी छन ।
बाँके हात्तिपाइले रोगको उच्च जोखिममा रहेकाले औषधी सेवन नै यसको न्यूनिकरण भएको उनको भनाइ छ । उनले पाँच वर्ष लगातार औषधी खुवाएपछि प्रि टाँक्स सर्वे गरेर अर्को वर्ष औषधी खुवाएर निवारण गर्ने रणनीति असफल भएपछि १३ औं पटक औषधी खुवाउन लागिएको बताएकी छन । उनले हात्तिपाइलेको औषधि सेवन नगर्ने कामदार पुरुषको संख्या बढी रहेकाले अबको अभियानमा सबैलाई यो औषधि सेवन गर्न आग्रह समेत गरेकी छिन् । यस्तै नेपाल पत्रकार महासंघ बाँके बाँकेका सचिव कमल डागिले हात्तिपाइले रोग विरुद्धको अभियानमा समाचार सम्प्रेषण लेख रचना बाट पत्रकारले गर्नु पर्ने भुमिका निर्वाह गर्न हामी सबै लाग्ने बताएका छन् ।

Nabintech