२५ बैशाख २०८१, मंगलवार
प्राकृतिक स्रोत समितिले मध्यवर्ती क्षेत्रका जनताका समस्याका बारे कोहलपुरमा अन्तरक्रिया गर्ने 


प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नु परेको समस्याका बारेमा बुधवार कोहलपुरमा छलफल तथा अन्तरक्रिया गर्ने भएको छ ।

मध्यवर्ती क्षेत्रमा बसोवास गर्दै आएका जनताले जंगली जनावर लगायत निकुञ्जका कारण भोग्नु परेको वास्तविक समस्या बुझ्न समितिका सभापति डा। आरजु राणाको नेतृत्वमा ६ सदस्यीय टोली जिल्लामा आएको छ । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नु परेको समस्याका बारेमा बुधवार दिउसो १ बजेदेखि कोहलपुर नगरपालिकाको चप्परगौडीमा अन्तरक्रिया राखिएको छ ।

अन्तरक्रियामा सरोकारवाला निकायको तर्फबाट निकुञ्जका अधिकारी, मध्यवर्ती क्षेत्रका जनता, राप्ती सोनारी र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिलाई सहभागिताको लागि अनुरोध गरिएको छ । समितिले बुधवारनै ३ बजेदेखि ५ बजेसम्म कोहलपुरस्थित भेरी शीत भण्डारमा सहकारी सम्बन्धी छलफल गर्ने कार्यक्रम तय भएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा राप्ती सोनारी गाउँपालिकाको वडा नं. एक, दुई, आठ र नौ तथा कोहलपुर नगरपालिकाको १२ र १३ नं वडा रहेका छन् । मध्यवर्ती क्षेत्रका वासिन्दाले भोग्दै आएको समस्या मिनी संसद्का रुपमा मानिने प्रतिनिधिसभा प्राकृतिक स्रोत समितिमा राख्न पाउने अवसर पाएका छन् । जनताले वास्तविक रुपमा भोग्दै आएका समस्यालाई प्रत्यक्ष हेरेर, बुझेर उहाँहरूले दिएको सुझावलाई ग्रहण गरिने बताईएको छ ।

Nabintech