१ जेष्ठ २०८१, मंगलवार
कोहलपुरमा दर्ता बिनानै भाषा कक्षा, लोकसेवा आयोग लगायतका कक्षाहरू सञ्चालनमा


कोहलपुरमा सञ्चालित आधिकांश ट्युसन सेन्टर, भाषा कक्षाहरू र लोकसेवा तयारी कक्षाहरू स्थानीय तहको सरकार सँग दर्ता नगरेरै सञ्चालन गर्ने गरिएको छ ।

कोहलपुर क्षेत्रमा ५ दर्जन बढि भाषा कक्षा, ट्युसन सेन्टरहरू र लोकसेवा कक्षाहरू सञ्चालनमा आएको भएपनि केही मात्रै दर्ता गरेको पाइएको हो । ति शैक्षिक गतिविधि सञ्चालन पूर्व कक्षा अनुसारको धरौटी रकम जम्मा गरेर मात्र सञ्चालन गर्न पाइने प्रावधान छ । कतिपयले भाषा कक्षा सँगै शैक्षिक परामर्श केन्द्रका नाममा वैदेशिक शिक्षाका लागी समेत काम गरि रहेका छन ।

कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरेर भाषा कक्षा, ट्युसन सेन्टर लोकसेवा तयारी कक्षा र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने गरिएको एक सञ्चालकले जानकारी दिए । तर संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय वा तत्कालीन जिल्ला शिक्षा कार्यालय र हालका नगर शिक्षा शाखाको अनुमतिमा मात्रै शैक्षिक गतिविधि गर्न पाइने कोहलपुर नगर शिक्षाका प्रमुख राम बहादुर हमालले जानकारी दिए । उनले विगतको ऐन अनुसार नै त्यस्ता संस्था सञ्चालनको अनुमति र नियमन हुने भएपनि हाल कोहलपुर नगर शिक्षाले ऐन र कार्यविधि संशोधनको तयारी भई रहेको जानकारी दिए । कोहलपुर नगर शिक्षा ऐनमा स्थानीय तहमा दर्ता गरेर मात्रै विद्यालय बाहिरका शैक्षिक गतिविधि गर्न पाइने उल्लेख ।

कोहलपुर नगरपालिकाले स्पष्ट ऐन र कार्यविधि  निर्माण नगरेको तथा अनुगमनको पाटो फितलो हुँदा बेथिती भित्रिएको शिक्षा विज्ञहरूको भनाई छ । कोहलपुर नगरपालिका अनुसार पाइला एजुकेसन हव, एबोर्ड अल्फा एजुकेसन कन्सल्टेन्सी प्रा.लि र हाम्रो पाठशालाले मात्रै गत आर्थिक वर्षमा  कोहलपुर नगरपालिका व्यवसाय दर्ता गरेका छन । नगर शिक्षा बाट अनुमति लिएर मात्रै व्यवसाय  दर्ता गर्नु  पर्नेमा त्यसो नभएको एक कर्मचारीले जानकारी दिए । कोहलपुर नगर शिक्षा कार्यालयका अनुसार ति कक्षा सञ्चालनका लागी कोहलपुर नगर शिक्षा बाट अनुमति लिनु पर्ने, कक्षा अनुसारको धरौटी रकम दिनुपर्ने व्यवस्था छ ।

यसरी सञ्चालित भाषा कक्षा, ट्युसन सेन्टर, लोकसेवा आयोगका कक्षाहरू गुणस्तरहीन हुने गरेको विज्ञहरूको भनाई छ । 

Nabintech