२५ बैशाख २०८१, मंगलवार
कोहलपुरको भाइरल गेट बारे राखेपको छानबिन सुरु


कोहलपुरको भाइरल गेट बारे राष्ट्रिय खेलकुद परिषदले छानबिन सुरु गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्क लाल घिसिङले गेट निर्माण बारे पूर्वाधार निर्माण शाखा प्रमुख इन्जिनियर राजु श्रेष्ठको नेतृत्वको टोलीले छानबिन सुरु गरेको जानकारी दिए ।

घिसिङले छानबिन पछि कमजोरी गर्ने उपर आवश्यक कार्यवाही गरिने जानकारी दिए ।

के हो कोहलपुरको भाइरल गेटको वास्तविकता ?

केही दिन देखी सामाजिक सञ्जालमा कोहलपुरको भाइरल गेट निकै चर्चामा छ । सामाजिक अभियन्ता भीम उपाध्यायले सार्वजनिक गरेको उक्त गेट कोहलपुर नगरपालिका वडा नं २ मा रहेको १३ बिगाहा मैदानमा निर्माण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरले अघिल्लो आर्थिक वर्षमा निर्माण गरेको हो । गेट निर्माणका लागी कोटेसन मार्फत कुटुम्ब निर्माण सेवा ले जिम्मेवारी लिएको थियो । राष्ट्रिय खेलकुद परिषदले कोटेसन र डिजाइनिङ गरेको भए पनि यसको नियमन र निमार्ण पूर्व कोहलपुर नगर पालिका वडा नं २ अध्यक्ष हरिसिंह कठायतले भूमिका निर्वाह गरेको देखिन्छ ।

अध्यक्ष कठायतले गेट निर्माण गर्ने भन्दै आएको ठेकेदार कम्पनी लाई सुरुमा फिल्ड निर्माणको काम गरिदिन आग्रह गरेको भएपनि निर्माण कम्पनीले गेट नै निर्माण गर्नुपर्ने  बताए पछि सोही अनुसार गरिएको बताए । गेटको शिलान्यास कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं २ का अध्यक्ष आफै सहभागी भएको निर्माण पक्षले बताएको छ ।सो कुरा अध्यक्ष कठायत आफैले १ महिना पहिले सार्वजनिक गरेका छन । सामाजिक सञ्जालमा भीम उपाध्यायले सार्वजनिक गरेको गेटको फोटो सहितको स्टाटसमा  नगरपालिका प्रति आक्रोश व्यक्त गरेपछि कोहलपुर नगर पालिका पूर्ण आचार्यले गेट निर्माण बारे आफू हरूलाई कुनै जानकारी नै नभएको बताएपछि सामाजिक सञ्जाल थप तातेको छ ।

कोहलपुर नगरपालिका श्रोतले दिएको जानकारी अनुसार निर्माण पूर्व समन्वय गरेको भएपनि निर्माण कम्पनीले गेट निर्माण सम्पन्न भई सके पछि भने संस्थागत समन्वय गरेको छैन । नगरपालिकाको दाबी अनुसार बिल भरपाई र फाइनल बिल निर्माणमा नगरपालिकाको कुनै सहभागिता छैन । खेलकुद परिषदका अनुसार १० लाखमा सम्झौता गरेको निर्माण कम्पनीले ८ लाख ५० हजार भुक्तानी भई सकेको श्रोतले जानकारी दिएको छ । तर सो गेट ३ लाख रुपैयाँ भित्रमै निर्माण सम्पन्न हुने स्थानीय को भनाई छ । निर्माण पक्षले निर्माण स्थल नजिक कुनैपनि सूचना पार्टी नराखेको स्थानीयको भनाई छ ।

हरेक आयोजनाको सुरुवातमा आम जनताले देख्ने गरि सूचना पार्टी राख्नुपर्ने नियम छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य एल बि क्षेत्रीले सो गेट निर्माण बारे आफूले सामाजिक सञ्जाल बाट मात्रै जानकारी पाएको बताए । उनले नेपालगञ्जको रङ्गशाला निर्माण लगायतका काम गुणस्तर हीन भएको कुरा उठी रहेको बेला नेपालगन्ज रङ्गशाला र कोहलपुरको गेट निर्माणको पुन जाँच गर्न सदस्य सचिव लाई आग्रह गरेको बताए ।

कहाँ चुक्यो कोहलपुर नगरपालिका ?

कोहलपुर नगरपालिकाले १३ बिगाहा मैदानमा मिनी रङ्गशाला निर्माण गर्ने बताउँदै आएको छ । निर्माण कम्पनीले सुरुमा कोहलपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष सँग समन्वय गरेको देखिन्छ । सो समन्वय पछि नगरपालिकाले डिजाइन इस्टमेट, लागत , गुणस्तरीयता बारे किन अनुगमन गरेन कोहलपुर बासीको चासोको विषय हो । कोहलपुर २ एक स्थानीयले स्थानीय सरकारको मिलेमतो बिना यस्तो खाले गेट निर्माण कम्पनीले बनाउन नसक्ने दाबी गर्छन । उनले स्थानीय सरकारको बिमति हो भने निर्माणको क्रममा काम किन रोकिएन भनेर प्रश्न गर्छन । आफ्नो अधिकार क्षेत्र भित्र निर्माण भएका सरकारी संरचनाको रेखदेख र संरक्षण बाट स्थानीय सरकार चुकेको उनीहरूको भनाई छ ।

Nabintech