१ जेष्ठ २०८१, मंगलवार
कोहलपुरलाई हरित सहरका रुपमा विकास गरिने मुख्यमन्त्री चौधरीको प्रतिबद्धता


लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

रास्ट्रपति चुरे तराई मधेस संरक्षण समिति अन्तरगत बाँकेको कोहलपुरस्थित कोहलपुर नेपालगन्ज सडकको साझा चोकदेखि हाइस्कुल चोकसम्म आज आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहर भन्दापनि कोहलपुरलाई हरियाली सहरको रुपमा चिनाउनु पर्ने बताउनुभयो ।

अहिले सिमेन्ट र सरियाले सहरको हरियाली उजाडिएको छ उहाँले भन्नुभयो कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्णसाथ छ । कोहलपुर प्रदेशको हरियाली नमूना सहर बन्नुपर्छ । उहाँले त्यसका लागि नगरबासीको पनि सहयोग हुन जरुरी रहेको औंल्याउनुभयो ।  बोटबिरुवा रोप्नुमात्र ठूलो कुरा होइन संरक्षण महत्त्वपूर्ण कुरा हो उहाँले भन्नुभयो  संरक्षणमा स्थानीयबासीले सहयोग गर्नु पर्‍यो । उहाँले घर घरमा रोप्ने बिरुवा र सडक सडकमा रोप्ने बिरुवको पहिचान गरेर मात्र वृक्षारोपण गर्न पनि सुझाव दिनुभयो । नगरलाई हरित नगर बनाउनुको विकल्प छैन उहाँले भन्नुभयो  तर बोटबिरुवा रोप्दा जनताले रुचाएका बिरुवा रोप्नु पर्छ । यसले बिरुवा संरक्षणमा स्थानियको चासो बढ्छ ।

उहाँले घरमा फलफूलका बिरुवा रोप्न सुझाव दिंदै यसले पोषणमा पनि सुधार ल्याउने धारणा व्यक्त गर्नुभयो । यस्तै लुम्बिनी प्रदेश सदस्य संजुकुमारी चौधरीले कोहलपुरलाई हरित नगर बनाउने सवाल प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै रोपिएका बिरुवाको संरक्षण र सम्बर्द्धनमा स्थानीय सरकारले जोड दिनु पर्ने बताउनुभयो ।

अर्का प्रदेश सदस्य जन्मजय तिमिल्सिनाले कोहलपुर नगरपालिकामा थालिएको हरित नगर अभियानले कोहलपुरलाई नमूना सहर बनाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागि परेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । बिगतका स्थानीय सरकारले पनि नगर क्षेत्रमा बोटबिरुवा रोपेको भएपनि ती बोटबिरुवा हुर्कन नसक्दा अहिले विज्ञहरुको सुझाव र माटोको ल्याव परिक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिनुभयो ।

बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिंदै उहाँले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न उहाँले नगरबासीलाई आह्वान समेत गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख संगीता सुवेदी, रास्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका वोर्ड सदस्य भेषराज आचार्य, रास्ट्रपति चुरे तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन ईकाइ कैलालीका प्रमुख हरिबंश आचार्य लगायतले बोल्नु भएको थियो । उक्त खण्डमा कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिका तीन सय बिरुवा रोपिएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिनुभयो । कोहलपुर नगरपालिकाको ३ लाख २५ हजार, रास्ट्रपति चुरे तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन ईकाइ कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा ३ सय ३० बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्शालले जानकारी दिनुभयो ।

Nabintech