२६ बैशाख २०८१, बुधबार
सर्वोच्चबाट हतियारसहितका प्रहरी हटाइयो


सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाइएको छ । नेपाल बार एसोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका हात हतियारसहितका दंगा प्रहरीलाई सोमबार सर्वोच्च अदालत परिसरबाट हटाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बारको अगुवाईमा कानुन व्यवसायीले कात्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आइरहेका छन् । प्रधानन्यायाधीशविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुले दंगा प्रहरी हटाउन माग गर्दै आएका थिए । उनीहरुले आफ्नो शान्तिपूर्ण आन्दोनमा प्रहरी हस्तक्षेप भएको भन्दै आइतबार गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा समेत माग गरेका थिए ।

धर्नाका क्रममा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी समेत हुँदै आएको थियो । सोही क्रममा कतिपय कानुन व्यवसायीहरु घाइते समेत भएका थिए । प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म धर्ना कायमै राख्ने कानुन व्यवसायीहरुले बताएका छन । उनीहरुले दिनहुँजसो सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका छन् ।

Nabintech