२ कार्तिक २०८१, शुक्रबार
महेन्द्रनगरमा हानिकारक रसायन हालिएको आँप नष्ट गरियो


कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्री वितरण भइरहेका छन्। भारतीय बजारबाट ल्याइएका हानिकारक रसायन हालेर पकाएका आँप ठेलागाढादेखि पसल पसलमा बिक्री भइरहेको छ।

खुलमखुल्ला प्रतिबन्धित रसायन हालेर पकाइएका आँप बिक्री वितरण बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ। कार्यालयका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठूलो परिमाणका हानिकारक रसायन प्रयोग भएको आँप बरामद गरेको छ।

महेन्द्रनगरमा पंकजकुमार गुप्ताले सञ्चालन गरेको बालाजी फ्रुट सेन्टरबाट ५७ क्विन्टल ८० किलो आँप बरामद गरिएको खाद्य अनुसन्धान अधिकृत बोहराले जानकारी दिए। उनका अनुसार २० किलोका २८९ क्रेट आँप बरामद गरेर आइतबार नष्ट गरिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिकासहितका सरोकारवाला निकायबाट बजार अनुगमन गरेर अखाद्य आँप बरामद गरी नष्ट गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले रसायन प्रयोग नगरिएका आँप मात्रै बिक्री(वितरण गर्न व्यवसायीलाई निर्देशन जारी गरेको छ।

Nabintech