२३ भाद्र २०८१, आईतवार
व्यवस्थापन फेरिएसँगै नेपालगञ्ज मेडिकल कलेजमा विशिष्टिकृत सेवा विस्तार हुदै


अस्पतालको व्यवस्थापकीय पक्ष फेरिएसँगै शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा विशिष्टिकृत सेवा विस्तार गर्दै उपचार सेवालाई थप स्तरीय बनाउन लागिएको छ । कोहलपुर र नेपालगन्ज स्वास्थ्यको हवका रुपमा परिचित भइरहेका बेला छिमेकी प्रदेशहरुमा सुविधा सम्पन्न अस्पतालहरु संचालनमा आउन थालेपछि त्यो चुनौतीलाई पन्छ्याउन शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा विशिष्टिकृत सेवाहरु थपिन लागिएको हो ।

लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडको ५१ प्रतिशत सेयर मेडिकल व्यवसायी खुमा आर्यालको समुहले किनेको बताईएको छ ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सचिव श्याम शर्माले आज कोहलपुरमा पत्रकारहरुसँग लुम्विनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका जनतालाई थप स्तरीय सेवा प्रदान गर्नका लागि विशिष्टिकृत सेवा थप्नुको विकल्प नभएको बताउनुभयो । उहाँले त्यहीअनुसार व्यवस्थापकीय पक्ष खटिएको बताउनुभयो । अन्नपूर्ण अस्पतालसँगको सहकार्यमा न्यूरो सेवालाई स्तरीय बनाएको शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरले आगामी साउन १ गतेदेखि क्याथल्याव सेवा दिने तयारी गरेको छ । क्याथल्याव सेवा प्रवाह भएसँगै मुटुका बिरामीहरुले ठूलो राहात पाउनेछन् ।

अस्पतालले प्रवाह गर्ने सबै उपचार सेवालाई विशिष्टिकृत गराउँदै लैजाने योजनाका साथ लागि परेको उल्लेख गर्दै कम्पनी सचिव शर्माले स्वास्थ्य सेवालाई प्रतिस्पर्धी बनाइने उल्लेख गर्नुभयो । शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा।रेशम बहादुर रानाले अस्पतालबाट प्रवाह हुने सेवालाई क्रमश स्तरीय बनाउँदै लगिएको जानकारी दिनुभयो । एनेस्थेसियोलोजिष्ट डा रानाले क्रिटिकल केयरमा शिक्षण अस्पताल कोहलपुर सबैभन्दा बढी स्तरीय रहेको पनि बताउनुभयो । कोहलपुर शिक्षण अस्पताल र शिक्षण अस्पताल नेपालगन्जमा दैनिक चारचार सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने छन् ।

उपचारसँगै कोहलपुर शिक्षण अस्पताललाई चिकित्सा शिक्षा अध्ययनको केन्द्रका रुपमा विकास गरिने तयारीमा आफुहरु रहेको पनि उहाँको भनाइ छ । अहिले कोहलपुरबाट एमबीबीएस एमडी, एमडी एमएस, विएस्सी नर्सिङमा अध्ययन भइरहेको छ । आगामी साउनदेखि बिडिएस, बिएमआइटी, बिएमएलटीको अध्ययन गराउने तयारीमा कलेज जुटेको छ । यसअघि संचालनमा रहेको पिसिएल नर्सिङलाई पनि निरन्तरता दिने तयारी कलेजले गरेको छ । सरकारका कारण पिसिएल नर्सिङको अध्ययन अहिले रोकिएको छ ।

‘कोहलपुर शिक्षण अस्पताललाई पूर्णरुपमा नेपालगन्ज मेडिकल कलेजको रुपमा संचालन गर्दै यसक्षेत्रमा स्वास्थ्य उपचारको नयाँनयाँ उपकरणहरु थप गरी विशेषज्ञ सेवा दिने गरी अगाडि बढेका छौं’ निर्देशक डा रानाले भन्नुभयो । यही साउन १ गतेदेखि कोहलपुर अस्पतालमा वन्द भएको स्वास्थ्य बीमा कार्यक्रम पनि सुरु गरिने डा.रानाले बताउनुभयो । पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी प्रमुख डा.सन्तोष कुमार विएन, शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा.सन्तोष शर्मा, उपनिर्देशक डा.कुमार पोख्रेल, सहनिर्देशक डा.रोमन किदवाई, प्रिन्सिपल डा.अनुप शर्मालगायतको उपस्थिति रहेको थियो ।

Nabintech