६ जेष्ठ २०८१, आईतवार
कोहलपुर खानेपानीका निवर्तमान अध्यक्ष मल्ल लाई कांग्रेसले गर्यो कार्यवाही 


नेपाली काँग्रेस बाँकेले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि नर बदादुर मल्ललाई कारवाही गरेको छ । बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत्तर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बनाईएका आधिकारीक उम्मेद्वारका बिरुद्धमा नेपाली काँग्रेसका क्रियासिल सदस्य एवम् क्षेत्रीय प्रतिनिधि, नेपाली काँग्रेसका पूर्व क्षेत्रिय सभापति नर बहादुर मल्लले नेपाली काँग्रेसका आधिकारिक उम्मेद्वारलाई असहयोग गरी अन्य पार्टीका उम्मेद्वारलाई बिजयी गराउन प्रचार–प्र्रसारमा लागेकोले पार्टीलाई क्षती हुने कार्य गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको छ ।

मल्ल खानेपानीमा विगत ८ वर्ष देखी अध्यक्ष पदमा रहेका थिए । भने उनको कार्यकालमा बिभिन्न खाले अनियमितता भएको आरोप लाग्दै आएको छ । 

मल्ल कोहलपुर बृहत खानेपानीका निवर्तमान अध्यक्ष समेत हुन् । अनुशासन समिति संयोजक टंकप्रसाद काफ्ले (आशिष) ले मल्ललाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र पार्टीको नियमावली २०७६ परिच्छेद १० को बुँदा नम्बर २९ को १ (क) र (ङ) का साथै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन २०७९ को प्रतिवेदन १२ को (च) बमोजिम ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको बताए ।

नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायाण प्रसाद गौडेलले पार्टीका विरुद्धमा विभिन्न गतिविधि गर्नेहरुलाई पार्टीले कारवाही गर्ने बताउँदै पार्टीको सदस्य भई पार्टीकै विरुद्ध लाग्न छुट कसैलाई नहुने बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेका सभापति पोषण केसीले पार्टीको नीति, विधान विपरित कार्य गर्नेलाई स्पष्टिकरण सहितको जवाफ माग गर्दा कुनै पनि जवाफ पार्टीलाई नदिएकाले त्यसलाई पार्टीले अनुशासन विपरित कार्य गरेको ठहर गर्दै कारवाही गरिएको बताएका छन् ।

सो पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले स्थानीय सरकारले कोहलपुर खानेपानी संस्थासँग सहकार्य गरी कोहलपुुरका जनतालाई नियमित, स्वच्छ खानेपानी उपलब्ध गराउने अभियानमा टेक नारायण भुषाल नेतृत्वको टिमलाई मतदान गरि निर्वाचित गराईदिन आम उपभोक्ता सदस्यहरुलाई अनुरोध गरेका छन् । सो अवसरमा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमिति सभापति बिरेन्द्र कुमार शाहले कोहलपुर बृहत खानेपानी संस्थाको स्थापना, विकास र स्तरउन्नतीको नेतृत्व काँग्रेसले गरेको बताउँदै संस्थाको आठौंं वर्ष पुग्दा सम्म पनि संस्थाको साधारण सभा हुन नसकेको अवस्थामा नेपाली काँग्रेसको पहलमा सात वटा सर्वदलिय र सर्वपक्षिय बैठक बोलाई साधारण सभा गर्न पहल गरिएको बताएका छन् ।

यसका साथै संस्था भित्र भएका अनियमितताहरुलाई सार्वजनिक गरी दोषिहरुलाई कानूनि दायरामा ल्याउन नेपाली कांग्रेसको पहलमा सर्वदलिय सर्वपक्षिय प्रस्तावको रुपमा साधारण सभामा लिई नेपाली कांग्रेसकै सदस्यको नेतृत्वमा छानविन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गरिएको उनले बताए ।

लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार टेक नारायषण भुषाल (बस), उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर विष्ट (टेबुल पंखा), सचिव पदका उम्मेद्वार गोविन्द वाग्ले (मोटरसाइकल), कोषाध्यक्ष पदका उम्मेद्वार धु्रब आचार्य(कित्ली), सह–सचिव पदका उम्मेद्वार बाल कुमारी सापकोटा (आँप), सह–कोषाध्यक्ष पदका उम्मेद्वार इश्वर प्रश्साद शर्मा(हेलिकप्टर), सदस्य पदका उम्मेद्वारहरु झग्गु प्रसाद वली (कोदालो), चक्रदिप शाह(कैचि), आशा घर्ती मगर (प्रेसर कुकर), महिला सदस्य पदका उम्मेद्वारहरु दिपा बस्नेत (टेबुल), टिकादेवि सुनार (बाघ) रहेका छन् ।

Nabintech