६ जेष्ठ २०८१, आईतवार
मिटरब्याजीलाई कारबाही हुन्छ : सञ्‍चारमन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजीलाई कारबाही गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको भन्दै आन्दोलनमा उत्रिएका पीडितहरुलाई घर फर्किन आग्रह गरेकी छन् । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले मिटरब्याजलाई फौजदारी अपराधको रुपमा लिएर कारबाही गर्ने गरी कानुनी प्रबन्ध गर्ने र आयोग गठन गर्ने निर्णय नै गरिसकेको बताइन् ।

‘मिटरब्याजीहरुको समस्या समाधानका लागि सरकारले काम थालिसकेको छ । आयोग नै गठन भइसक्यो, यसको कार्यालय जनकपुरमा हुन्छ,’ उनले भनिन्, ‘यो मिटरब्याज छ कि छैन भनेर खोज्ने आयोग होइन, कुन मिटरब्याजीले कति ठगेको छ रु त्यसको जाहेरी लिएर कारबाही गर्ने आयोग हो ।’

उनले मिटरब्याजीलाई कारबाही गर्न सरकारले कानुन संशोधनको निर्णय गरेर प्रक्रिया अघि बढाएको बताइन् । ‘उहाँहरु दोहोर्‍याएर काठमाडौं आउनुभएको छ, दुःखकष्ट सहिरहनुभएको छ । तर सरकारले यसबारे पहिले नै निर्णय गरेर काम थालिसकेको छ,’ उनले भनिन्, ‘अहिले म काठमाडौं आउनुभएका पीडितहरुलाई घर फर्किएर आयोगलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गर्दछु ।’

Nabintech