६ कार्तिक २०८१, मंगलवार
बाँकेको नरैनापुरमा झाडापखाला फैलियो

झाडापखालाका कारण चार जनाको ज्यान गएको आशङ्का गरिएको छ



कोहलपुर / बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको ज्यान गएको आशङ्का गरिएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा झाडापखाला फैलिएको छ । गाउँमा केही बिरामी परेका छन् । बिरामीमध्ये चारजनाको ज्यान गए पनि झाडापखालाबाट ज्यान गएको भन्ने आधिकारीक पुष्टि हुन बाँकी नै रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभएको छ ।

भारतीय सीमासँग जोडिएको गेगलीमा झाडापखालाका कारण १० जनाभन्दा धेरै बिरामी भएका छन् । त्यहाँ झाडापखाला फैलिएको जानकारीमा आएको तर झाडापखाला नै मुख्य कारण हो वा होइन भन्ने यकिन गर्न आज स्वास्थ्यकर्मीसहितको टोली खटिने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले आफूलगायत स्वास्थ्यकर्मीसहितको विज्ञ टोली प्रभावित गाउँतर्फ जाँदै गरेको र त्यसपछि थप अनुसन्धान र अवस्था बुझेर आज बेलुकासम्म आधिकारीक जानकारी आउने  बताउनुभयो ।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाह, स्वास्थ्य चौकीका सिनियर अहेब तैयब अहमद र अन्य स्वास्थ्यकर्मीको टोली यसअघि नै गाउँमा पुगेर बिरामीको उपचार थालिसकेको छ ।

Nabintech