३० कार्तिक २०८१, शुक्रबार
कोहलपुरमा बृहत् वृक्षारोपण अभियान


कोहलपुर, कोहलपुर नगरपालिकाले बृहत् वृक्षारोपण अभियान सुरु गरेको छ । हरित सहरको नीति लिएको नगरपालिकाले बुधबारबाट कोहलपुरमा बृहत् वृक्षारोपण अभियान सुरु गरेको हो ।
एक कार्यक्रमका बीच नगरप्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बिरुवा रोपेर उक्त अभियानको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कोहलपुर नगरपालिका परिसरमा साढे तीन सय बिरुवा रोपिएको छ । कोहलपुर नगरपालिकाले यो समयमा एक हजार ६० ‘कोनो कार्पस’ प्रजातिको बिरुवा रोप्ने तयारी गरेको छ ।

अभियानअन्तर्गत साँझा चोकदेखि हाइस्कुल चोक, न्यूरोडदेखि मेडिकल कलेज क्षेत्र, नगरपालिका तथा नगर विकास समितिको परिसरलगायतका ठाउँमा बिरुवा रोपिने नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकालाई हरित नगर बनाउने योजनाअनुसार अभियान सुरु भएको नगरप्रमुख आचार्यले बताए । उक्त अभियानअन्तर्गत कोहलपुरका चोकचोकमा ‘कोनो कार्पस’ बिरुवा लगाइनेछ ।

कोहलपुर सहरलाई हरित सहर बनाउने नगरपालिकाको अभियानमा सबै नगरवासी जोडिन उनले आह्वान गरे । उक्त अवसरमा बोल्दै उपप्रमुख सुवेदीले कोहलपुरलाई वातावरणमैत्री नगर बनाउन पनि वृक्षारोपण अत्यन्तै जरुरी रहेको रहेको बताइन् ।

कोहलपुरलाई सुन्दर र हरियाली नगर बनाउनको लागि वृक्षारोपण अभियान सुरु गरिएको उनको भनाइ छ । जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरणका लागि बोटबिरुवाको संरक्षण आवश्यक रहेकाले हरेक नगरवासीले रोपिएका बिरुवाको संरक्षण गर्नुपर्ने उनले बताइन् ।

राजमार्गको बीच खण्डमा, नगर भवन परिसर, निर्माणाधीन नगर कार्यपालिकाको परिसर र बजार क्षेत्रमा कोनो कार्पस बिरुवा रोपिने नगर प्रहरी प्रमुख थापाले जानकारी दिए । यस्तै नगरपालिकाले नगरवासीलाई आफ्नो घर अगाडि छत्तीवन, करभिर, बेगनबेली, समी, कपुर, मिनी चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमालगायतका बिरुवा रोप्न आग्रह गरिएको छ ।

Nabintech