अनुगमनका क्रममा बुधबार अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका वडा नं ८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीको अनुगमन गरेको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, वडा नं ८ का वडाअध्यक्ष सालिकराम डाँगीलगायतको टोलीले शैक्षिक गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभयो ।
सो क्रममा अध्यक्ष पौडेलले पालिकाले शैक्षिक सुधारका लागि आवश्यक बजेट बिनियोजन गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकहरुको बिशेष ध्यान गुणस्तर सुधारमा लगाउन अनुरोध समेत गर्नुभयो ।
‘विद्यालयमा आवश्यक कुराहरुको पालिकाले व्यवस्थापन गर्न हरसम्भव प्रयासरत रहनेछ ।,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘त्यसकारण कहीँ कतै कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन हुन्न ।’
वडा अध्यक्ष डाँगीले व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र शिक्षकहरुको सक्रियता आवश्यक रहेकाले यसतर्फ पनि हरेक विद्यालयले सोच्नपर्ने कुरामा जोड दिनुभएको थियो ।
‘जबसम्म विद्यालयसँग सरोकार राख्ने सबै पक्षको सक्रियता हुँदैन ।,’ वडाअध्यक्ष डाँगीले भन्नुभयो, ‘त्यतिबेलासम्म स्थानीय सरकारले अथवा जसले सहयोग गरेपनि शैक्षिक सुधार हुन सक्दैन जस्तो लाग्छ ।’
यो भनाईसँगै उनले पछिल्लो समय विद्यालयहरुको अवस्थामा सुधार देखिएको बताउँदै आवश्यक व्यवस्थापन गर्न आफुहरु तयार रहेको बताए । टोलीले अन्य योजनाहरुको समेत अनुगमन गरेको थियो ।
टोलीमा गाउँपालिकाका इन्जिनियर दुर्गा केसी, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । यो वर्ष शैक्षिक सुधारका लागि भन्दै पालिकाले विभिन्न कार्यक्रमहरु तयार गरेर योजना बनाएको छ ।