२ कार्तिक २०८१, शुक्रबार
कोहलपुरका  व्यवसायीक समस्या समाधान गर्न सक्षम छौ : युवा व्यवसायी राजिब शर्मा


पछिल्लो समय कोहलपुर, एक व्यावसायिक केन्द्रको रुपमा विस्तार भइरहेको छ। यहाँका व्यवसायीहरू विभिन्न चुनौतीहरूको सामना गर्दै आएका छन्। खुल्ला सिमाना, उच्च ब्याजदर, र स्थानीय निकायहरूको असहयोग व्यवसायीहरूका लागि प्रमुख समस्या बनेका छन्। यसैबीच, युवाहरूले सानो स्तरबाट व्यवसाय सुरु गरेर ठूलो सफलता प्राप्त गर्न थालेका छन्। त्यस्ता सफल युवामध्ये एक नाम हो, कोहलपुरका राजिब शर्मा। राजिव शर्मा यही कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अन्जना धितालको नेतृत्वमा रहेको प्रगतिशील व्यवसायिक प्यानलबाट सदस्य पदको उम्मेदवार हुनुभएको छ।

 

व्यवसायिक यात्रा र सफलता

राजिब शर्माको व्यावसायिक यात्रा धेरै प्रेरणादायक छ। उहाँका बुवाले २०५९ सालमा बर्दिया जिल्लाबाट कोहलपुर बसाइँसराइ गरेर व्यवसाय सुरु गर्नुभएको थियो। बाल्यकालमै बुवाको व्यवसाय देखेर प्रेरित भएका शर्माले न्यु राज इन्टरप्राइजेज हुदैँ अहिले राजिव सपिङ सेन्टर नामको होलसेल पसल सञ्चालन गर्न सफल हुनु भएको छ। कोहलपुरको टाउनप्लानिङ क्षेत्रमा आफ्नै घरमा होलसेल पसल स्थापना गर्नुले उहाँको मेहनत र धैर्यता स्पष्ट देखाउँछ।

उहाँको मान्यता छ, “धैर्यता, इमानदारी र लगनशीलता भयो भने सानो लगानीबाट पनि ठूलो सफलता प्राप्त गर्न सकिन्छ।” राजिब शर्माको सन्देश, साना व्यवसायहरूलाई राम्रोसँग व्यवस्थापन गरेर विस्तार गर्न सकिनेछ। यही विचारले उहाँलाई स्थानीय व्यवसायीहरू माझ लोकप्रिय बनाएको छ।

कोहलपुरका प्रमुख व्यापारिक समस्या

कोहलपुरका व्यापारिक समस्याहरू गहिरो छन्। खुल्ला सिमानाका कारण नेपाली व्यवसायीहरूले भारतीय बजारसँग सीधा प्रतिस्पर्धा गर्नुपर्छ। दैनिकी सामानका लागि नै रुपैडिया पुग्नुपर्ने बाध्यता छ। यसले स्थानीय व्यवसायमा मन्दी ल्याउने गरेको छ। यस समस्या समाधान गर्न शर्मा खुल्ला भन्सारको नीतिमा सुधार गर्नुपर्ने पक्षमा छन्। उहाँले यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पहल गर्ने बताउनु भएको छ।

बैङ्कको उच्च ब्याजदर

बैङ्कको चर्को ब्याजदरले कोहलपुरका धेरै व्यवसायीहरूलाई समस्यामा पारेको छ। व्यवसायको विस्तारका लागि कर्जा लिनुपर्ने अवस्थामा उच्च ब्याजदरका कारण व्यवसाय टिकाउन गाह्रो भइरहेको छ। बैङ्कहरूले व्यवसायीहरूलाई प्रोत्साहित गर्नुपर्ने भए पनि, यसले झन् चुनौती थपिरहेको छ। राजिब शर्माको भनाइमा, “ब्याजदर घटाउनुपर्ने र बैङ्कहरूले सहुलियतपूर्ण नीति लिनुपर्ने जरुरी छ।” उहाँले व्यवसायीहरूको हकहितका लागि बैंकहरूसँग संवाद गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

 युवालाई व्यवसायमा प्रोत्साहन

कोहलपुरका युवा विदेश पलायन भइरहेका छन्। रोजगारीको कमी, अवसरहरूको अभाव, र व्यावसायिक जानकारी नहुनुका कारण धेरै युवा विदेश जान बाध्य छन्। तर, राजिब शर्मा युवालाई यहाँ नै व्यवसायमा प्रोत्साहन गर्न चाहनुहुन्छ। उहाँको विचारमा, युवालाई लक्षित तालिम र प्राविधिक सीपहरू प्रदान गरेर व्यवसायमा आकर्षित गर्न सकिन्छ। शर्मा भन्छन्, “यदि युवालाई सही दिशानिर्देश र सहयोग दिइयो भने, उनीहरूले देशमै अवसरहरू खोज्न सक्छन्।”

कोहलपुरका व्यवसायीहरूका लागि समाधानका उपाय

शर्माले व्यवसायीहरूको समस्या समाधानका लागि आफूले केही उपाय सुझाएका छन्। खुला सिमानामा सख्त नीति लागु गर्ने, बैङ्कको ब्याजदर घटाउन दबाब दिने, र व्यवसायीहरूलाई उचित तालिम प्रदान गर्ने तर्फ उहाँको पहल हुनेछ। युवाहरूलाई लक्षित गर्दै व्यवसायिक तालिमहरू सञ्चालन गरेर उनीहरूलाई व्यावसायिक क्षेत्रमा सक्रिय बनाउन सकिन्छ। यसले देशको आर्थिक वृद्धिमा ठुलो योगदान पुर्याउने विश्वास राख्नुभएको छ।राजिब शर्माको दृढता र समर्पणले उहाँलाई कोहलपुरमा सफल व्यवसायीको रुपमा स्थापित गरेको छ। उहाँजस्तै युवाले व्यवसायमा मेहनत, इमानदारी र लगनशीलता राखे भने, कोहलपुरको व्यवसायिक क्षेत्रले अझ ठूलो प्रगति गर्नेछ।

 

Nabintech