२ कार्तिक २०८१, शुक्रबार
रेडक्रस बागेश्वरी युवा सर्कलमा पत्रकार खगेन्द्रको नेतृत्व


नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा युवा पत्रकार खगेन्द्र दाहाललाई चयन गरिएको छ । रेडक्रसको बागेश्वरी उपशाखा खजुरा अन्तर्गत बुधबार आयोजित २१औं स्थापना दिवसका अवसरमा गठित युवा सर्कलको नेतृत्वमा पत्रकार दाहाललाई निर्वाचित गरिएको थियो ।

सञ्चारकर्मीका रुपमा मात्र नभएर पत्रकार दाहाल मानवीय सेवा कर्ममा समेत निरन्तर लाग्दै आएका छन् । नवगठित युवा सर्कलको उपाध्यक्षमा लिला गिरी, सचिवमा गम बहादुर डांगर, उपसचिव प्रकाश शाह, कोषाध्यक्ष तुला खत्री र उपकोषाध्यक्षमा सिता वि।क। चयन भएका छन् । यस्तै सदस्यहरुमा गौरब सापकोटा, लिला भट्टराई, यम बहादुर विष्ट, सुस्मिता क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । एक जना कार्यसमिति सदस्य र सल्लाहकारलाई आगामी बस्ने बैठकद्वारा मनोयन गरिने नवनिर्वाचित अध्यक्ष दाहालले जानकारी दिए ।

२०६० सालमा स्थापना भएको बागेश्वरी उपशाखाको युवा सर्कल केही वर्ष यता निष्क्रिय अवस्थामा रहेकोमा यसलाई पुनस् क्रियाशील बनाउन नयाँ कार्यसमिति निर्माण गरिएको वागेश्वरी उपशाखा खजुराका सभापति जिवनाथ सापकोटाले जानकारी दिए । नवगठित कार्यसमितिलाई शुभकामना दिँदै जिल्ला कार्यसमिति सदस्य, सितापुर उपशाखाका सभापति, जुनियर युवा समितिका संयोजक यम नारायण महतोले विगतका दिनमा जस्तै युवा सर्कल क्रियाशील भएर मानवीय सेवाको कार्यमा लाग्ने विश्वास लागेको बताए । खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका क्षेत्रीले रेडक्रस जस्तो मानवीय सेवा गर्ने संस्थामा रहेर कार्य गर्न पाउनु नै भाग्यमानी सम्झनुपर्ने बताए । वडाध्यक्ष रोका क्षेत्रीले खजुरामा आइपर्ने प्राकृतिक प्रकोपमा ‘म सेवा गर्छु’ भन्ने मनोभावना लिएर सबै लाग्न आवश्यक रहेको भन्दै शुभकामना ब्यक्त गरे ।

स्थापना दिवस मनाउने कार्यक्रममा खजुराका रेडक्रसकर्मी, स्थानीय संघसंस्थाका पदाधिकारी, जनप्रतिनिधि, युवाहरुको सहभागिता थियो ।

Nabintech