३ आश्विन २०८१, बिहीबार
राप्तीसोनारी गाँउपालिकाद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स


राप्तीसोनारी /बाँकेको राप्तीसोनारी गाउँपालिकाले पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना तथा पालिकाको सिमा क्षेत्रबाट सर्पदंशका विरामी उद्धारका लागि सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वार्टर शम्शेरगञ्जलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल र सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वार्टर शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षरपछि एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले पालिकाको स्वामित्वमा रहेको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना तथा पालिकाको सिमा क्षेत्रबाट सर्पदंशका विरामी उद्धारका लागि सञ्चालन गर्न सहज हुने अपेक्षा गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वार्टर शम्शेरगञ्जलाई हस्तान्तरण गरिएको बताए ।

उनले पालिकामा ७–८ वटा एम्बुलेन्स रहेको र आवश्यक जनशक्तिको अभावका कारण सर्पदंश केन्द्रमा रहेको एम्बुलेन्स सञ्चालनका लागि सशस्त्र प्रहरीसंग एम्बुलेन्स सञ्चालनको सम्झौता गरिएको स्पष्ट पारे ।

विपदको बेलामा उद्धारमा खटिनका लागि उपकरणले सहयोग पुर्याउने भएकोले नेपालगञ्ज उपमहानगरले पनि सहकार्य गर्न ईच्छुक रहेको नगरप्रमुख प्रशान्त विष्टको भनाई छ । उनले राप्तीसोनारी गाउपालिकाले विपदको बेलामा उद्धारमा सहजता पुर्याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेर सशस्त्र प्रहरी बललाई बलियो बनाउने काम गरेको भन्दै प्रशंसा गरे ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजकसमेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विपदमा उद्धारका लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स उपलब्ध गराउनुले यस क्षेत्रमा सडक दुर्घटनामा उद्धारमा अहम भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

पूर्वपश्चिम राजमार्गको शिब खोलादेखि कोहलपुरको सिमा क्षेत्रसम्म हुने सडक दुर्घटनाका प्रभावितलाई उद्धारका लागि एम्बुलेन्सले मदत पुग्ने सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेड क्वार्टर शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले बताए ।

उनले सशस्त्र प्रहरी बल नेपाल नं.४२ रिजर्भ गण हेड क्वाटर शम्शेरगञ्जले आर्थिक बर्ष ०८०÷०८१ देखिं हालसम्म गोताखोर टोलीले १९ जना मृत उद्धार र सडक दुर्घटनामा ६ जना मृत र २ सय २८ जना जीवित उद्दार गरिसकेको जानकारी दिए । यसको साथसाथै आगलागी तथा जाजरकोटमा गएको भूकम्पमा समेत उद्धार कार्य गरि सकेको जनाईएको छ ।

यसका साथै सशस्त्र प्रहरी बलले कुनै पनि विपदसँग सम्बन्धित जनचेतना अभिबृदि तथा विपद् पश्चात तत्काल उद्धार कार्य गर्न सक्षम, कुशल एवं तालिमप्राप्त दक्ष जनशक्ति भएको संरचना हो ।

आवश्यक बन्दोबस्तीसहित विपद् उद्धार कार्यमा खटिने उद्देश्यले २०६९ साल असार १७ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल लुम्बिनी प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीको स्थापना गरीसशस्त्र प्रहरी बल नेपाल नं.४२ रिजर्भ गण हेड क्वार्टर शम्शेरगंञ्ज, बाँकेबाट परिचालन हुँदै आई रहेको छ

Nabintech