२३ भाद्र २०८१, आईतवार
शोकमा नरैनापुरको गेगली गाउँ


बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३, गेगली गाउँका ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी परिन् । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको मृत्यु भयो ।

श्यामलाल पासीको परिवारका सदस्यमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन ।

त्यस्तै लक्षण देखिएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा मृत्यु भयो । यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासी बितिन् । पाँच दिनको अवधिमा बुहारी उषा, भाउजू शान्ति र नातिनी नन्दनीको मृत्यु भएपछि श्यामलाल यतिखेर विक्षिप्त छन् ।

उनी घरबाहिरै टोलाएर बस्छन् । “सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्‍यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ,” उनी पीडा पोख्छन् । स्वास्थ्य संस्थामा लैजान नपाउँदै घरमै तीनजनाको मृत्यु भएको उनले सुनाए ।

गेगली गाउँकै १० वर्षीय युसुफ शेखको पनि भदौ १२ गते मृत्यु भएपछि गाउँवासी यतिखेर शोक र भयमा छन् । गाउँका अन्य नागरिकमा संक्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानदेखि गाउँमा स्वास्थ्य शिविर चलाएको थियो ।

तर, अन्य परिवारमा ज्वरो आउने लक्षण देखिएको वडा नम्बर ३ का वडाध्यक्ष अजयकुमार मिश्राले जानकारी दिए । मंगलबार पनि गेगली–३ कै २५ वर्षीया एक महिलामा उच्च ज्वरो देखिएपछि तत्काल लक्ष्मनपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको वडाध्यक्ष मिश्राले बताए । उनीसहित हाल तीनजना अस्पतालमा भर्ना भएर उपचाररत छन् ।

सामान्य अवस्थामा रहेका स्थानीयलाई शिविरबाट जीवनजल र पानी शुद्धीकरणका लागि पियुस उपलब्ध गराइएको छ ।नरैनापुर गाउँपालिकाले स्थानीय मन्दिर प्रांगणमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सोमबार ३६५ जना स्थानीयको स्वास्थ्य जाँच गरिएको थियो ।

सोमबार साँझसम्म गाउँका तीनजनामा मात्रै झाडापखाला देखिएको र अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए । भारतीय सीमासँग जोडिएको गेगली गाउँमा भदौ १२ गतेदेखि झाडापखाला फैलिएको थियो ।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहका अनुसार मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशंका गरिएको छ ।

गेगलीका युसुफमा ज्वरो आउने समस्या देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ । मृत्यु भएका र हाल बिरामी रहेका स्थानीयको पनि झाडापखाला वा ज्वरोको मुख्य कारण भने पहिचान हुन सकेको छैन ।

 

Nabintech