३१ भाद्र २०८१, सोमबार
असल संस्कार सहित शैक्षिक गुणस्तर वृद्धि गर्न जीवन ज्योतिमा उत्प्रेरणा तालिम


बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जीवन ज्योति स्कुलले असल संस्कार सहितको शैक्षिक गुणस्तर वृद्धि गर्न उत्प्रेरणा ३ दिने तालिम दिइएको छ । विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्प्रेरणा तालिम दिइएको  हो ।

त्यसमा विद्यार्थी एवम् शिक्षकका लागि प्रार्थना व्यवस्थापन सम्बन्धी तालिम गराइएको थियो । कालिका मान विज्ञान माध्यमिक विद्यालयका शिक्षक हरिश ओलीले तिन दिनसम्म व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी एवम् एक दिन अभिभावक, व्यवस्थापन समिति, विद्यार्थी र शिक्षकलाई उत्प्रेरणा तालिम दिनुभएको थियो । तालिमको अन्तिम दिन विद्यार्थीहरूले आफ्ना अभिभावकलाई टीका र माला लगाएर सम्मान गरेका थिए ।

नेपाली संस्कृतिअनुसार अभिभावकलाई छात्रहरूले ढोग र छात्राहरूले नमस्कारले सम्मान गरेका थिए । जीवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले पछिल्लो समय विद्यालय परिवार संस्कार अनि व्यवहारिक ,जीवन उपयोगि सिप सङ्गै शैक्षिक गुणस्तर सुधार्न लागिपरेको बताउनुभयो । “तालिमबाट प्रार्थना व्यवस्थापन, विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्ध लगायत धेरै विषयमा जानकारी प्राप्त भएको छ”, प्रिन्सिपल जेम्सले भन्नुभयो, “सबै कक्षामा शतप्रतिशत नतिजा ल्याउन र विद्यार्थीलाई असल संस्कृतिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको हो ।”

शिक्षकले मात्र विद्यालयको गुणस्तर सुधार्न नसकिने भएकाले अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिलाई थप जिम्मेवारी बनाउन उत्प्रेरणा तालिमको आयोजना गरिएको प्रिन्सिपल जेम्सले बताउनुभयो । पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गइरहेका बेला उत्प्रेरणा कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसि नमुनाले बताउनुभयो । यति बेला आफू सिङ्गो प्रदेशकै शैक्षिक गुणस्तर वृद्धिको अभियानमा लागेको जनाउँदै त्यसमा जीवन ज्योति स्कुलले देखाएको अग्रसरताप्रति विद्यालयलाई धन्यवाद दिनुभयो ।

यस्तै स्कुलले राख्ने गरेको यस्ता अतिरिक्त क्रियाकलापले आफूहरूमा थप उत्साह र जीवनमा केही बन्नको लागि प्रेरणा मिलेको विद्यार्थीहरूको भनाई छ ।  हजारौं विद्यार्थी र अभिभावकहरूको अगाडि जुन संस्कार स्कुलले सिकाएको छ र यसरी छोराछोरीले फूलमाला सहित सम्मान गरेको मा एकदमै खुसी मिलेको अभिभावकहरूको भनाई रहेको  छ।

स्कुलले गर्ने यस्ता खालका अतिरिक्त क्रियाकलापले छोरा छोरिमा सकारात्मक परिवर्तन आएको उहाँले बताउनु भयो। कार्यक्रममा आज कक्षा ६ देखि ११ सम्मका विद्यार्थी अभिभावकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

Nabintech