२३ भाद्र २०८१, आईतवार
समृद्ध कोहलपुरकाे आधार

‘अब कोहलपुरले विकास कछुवाको होइन, खरायोको गतिमा समात्नुपर्ने बेला भएको छ । त्यसका लागि मेरो तहबाट के गर्नुपर्छ ? म गर्न तयार छु । प्रदेश र केन्द्रीय सरकारको तहबाट जे गर्नुपर्ने हो त्यो गर्नुपर्छ । नगर्ने छुट कोहलपुरले दिदैन् अब ।’



बाँके । ‘अब कोहलपुरले विकास कछुवाको होइन, खरायोको गतिमा समात्नुपर्ने बेला भएको छ । त्यसका लागि मेरो तहबाट के गर्नुपर्छ ? म गर्न तयार छु । प्रदेश र केन्द्रीय सरकारको तहबाट जे गर्नुपर्ने हो त्यो गर्नुपर्छ । नगर्ने छुट कोहलपुरले दिदैन् अब ।’

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको यो भनाईले अबको कोहलपुर कस्तो हुँदै छ भन्ने संकेत गर्छ । नगरप्रमुख आचार्यको भनाईमा ‘कोहलपुरले यहाँका स्थानीय नागरिकको मात्रै होइन पश्चिमका धेरै जिल्लाका नागरिकलाई अभिभावकत्व’ प्रदान गरिरहेको छ । त्यसैले कोहलपुरलाई फराकिलो दृष्टिले हेरिनुपर्छ ।

‘कोहलपुर बारे राज्यका नीति निर्मातामा रहेको सांघुरो सोंच परिवर्तन हुनुपर्छ । यो सानो शहर मात्रै हो भन्ने भ्रममा कोही नपरे हुन्छ । दुःख बिरामी परेर टाडा–टाडाबाट उपचारका लागि आउने ठाउँ हो कोहलपुर । उच्च शिक्षाका लागि बर्षेनी कयौं विद्यार्थी यहाँँ आइरहेका छन् ।’ आचार्य थप्छन्–‘शहरको सुखसुविधा खोज्दै आउनेको थामिनसक्नु भिड छ ।’ यसरी बर्षेनी बिभिन्न उदेश्य बोकेर आउने मान्छेको ‘फ्लो’ बढिरहेको कोहलपुर अबका केही दशकमा भब्य शहरमा परिणत हुँदै छ । त्यसको सम्भावना केलाउँदै नगर प्रमुख आचार्य भन्छन्,–‘कोहलपुर जस्तै अन्य ठाउँका शहरको विकासको गति धेरै अघि बढिसक्यो । अब हामीले पनि त्यो रफ्तारलाई समात्नुपर्ने छ ।’

कोहललपुरले शिक्षा,स्वास्थ्य,पर्यटन, आर्थिक मुद्दामा गति समात्दै छ । नगर प्रमुख आचार्य यि कुराको बिकाससंगै पूर्वाधारको विकासलाई टड्कारो आवश्यक महसुस गर्दै भन्छन्,–‘यहाँ मान्छेको चाप जसरी बढिरहेको छ त्यो अनुसारको बाटो,खानेपानी जस्ता पूर्वाधारको निर्माण अत्यन्त जरुरी छ । त्यसका लागि स्थानीय तहबाट हुने त भइरहेका छन् । यहाँबाट नहुने कुरा प्रदेश र केन्द्रले हेर्नुपर्छ ।’ पूर्वाधारको विकासले मात्रै कोहलपुरमा अन्य विकासका कामलाई गति दिने नगर प्रमुख आचार्य बताउँछन् ।

कोहलपुर पश्चिम नेपालको प्रमुख ‘ट्रान्जिट’का रुपमा छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग,नेपालगन्जबाट सुर्खेत हुँदै कर्णाली प्रदेश जाने रत्न राजमार्ग मिल्ने चारवटा बाटोको मिलनविन्दु (चौराह) त सबैको मनमष्तिकमा छ ! यहाँ हुँदै नेपालगन्ज, कर्णाली प्रदेश, पश्चिमको सिमाना कन्चनपुर गड्डाचौकी र पूर्वमा बुटवल, नारायणघाट हुँदै काठमाडौलगायत पूर्वी नेपालका विभिन्न शहरहरु जाने पक्की सडक यातायातको सुविधा छ । यातायात सुविधाका हिसाबले महेन्द्र राजमार्गबाट सुदुर पश्चिम तथा कर्णाली प्रदेश जाने प्रवेशद्वारका रुपमा लिइन्छ ।

तर अब कोहलपुर यातायातको ‘ट्रान्जिट’ मात्रै सिमित छैन् । उद्योग, शिक्षा,स्वास्थ्य,पर्यटन,पूर्वाधार विकासको ‘हब’ बन्ने दौडमा रहेको आचार्य बताउँछन् । भावी कोहलपुरको सम्भावना केल्याउँदै गर्दा यसको इतिहास र बर्तमानपक्षको बिबेचना नगर्ने कुरै आउँदैन् । कोहलपुरको नामाकरण पनि आर्थिकपक्षसंग जोडिएको छ । ‘कोहलपुरको नामकरण तेल पेल्ने कोलबाट भएको हो भन्ने विश्वास छ । कोल भनेको तेलहन जस्तै तोरी, आलस आदि पेलेर तेल उत्पादन गर्ने काठैकाठले बनेको घरेलु यन्त्र हो ।’– कोहलपुर नगरपालिकाको वेवभसाइडमा यसको नामकरणका बिषयमा यि कुरा उल्लेख छ । कोल पेल्ने परम्परा हराइसकेको छ तर यो कुनै बेला प्रत्येक नेपालीको दैनिकी र जिविकोपार्जनसंग जोडिएको बिषय थियो । यसरी आर्थिक पक्षसंग जोडिएको बिषयबाट कोहलपुरको नामाकरण भएको देखिन्छ ।

सदरमुकाम नेपालगन्ज नेपालगन्ज उहिल्यैदेखि गुल्जार भइरहँदा उत्तरमा रहेको कोहलपुर जंगलै थियो । नेपालगन्जमा राणाकालदेखि नै चहलपहल हुन्थ्यो । पहाडी तथा हिमाली भेगबाट मानिस कोहलपुर हुँदै नेपालगन्ज झर्थे । पूर्वपश्चिम (महेन्द्र) राजमार्ग बन्यो । राजमार्ग छेउछाउमा थुप्रै सहर बसे । तैपनी कोहलपुर सुनसान नै रह्यो ।

तर कोहलपुर क्षेत्रलाई व्यवस्थीत सहरीकरण तथा वसोवास क्षेत्रको रुपमा विकास गर्न आधुनिक शहर योजना र निर्माण गर्ने उद्देश्यले २०४१ सालमा कोहलपुर नगर विकास समितीका निर्माण गरी ‘टाउन प्लानिङ’ शुरु गरियो । त्यसपछि भने यो एउटा व्यवस्थीत शहरका रुपमा उदय भयो । कोहलपुर नगर विकास समितीका प्रथम अध्यक्ष नवराज गुरुङ थिए भने यो १७८ वीगाहा क्षेत्रमा फैलिएको छ ।

कोहलपुर नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख आचार्य यहाँको विकासमा कोहलपुर मेडिकल कलेजको महत्वपूर्ण भूमिका छ र ‘टाउन प्लानिङ’ ले शहरको सौन्र्दयकरणमा भूमिका खेलेको छ । ‘हाम्रो शहरको मुख्य शक्ति भनेकै राजमार्ग हुनु हो । यसले विकास र शहरको उन्नतीकोे ढोका खोलेको छ । त्यसलाई हामीले उपयोग गर्न सक्नुपर्छ ।’

सदरमुकाम नेपालगन्ज जस्तै कोहलपुर गुल्जार भइसकेको छ । प्लानिङको जग्गामा घर भरिएका छन् । बाहिर बजार विस्तार हुँदैछ । कोहलपुर दुई राजमार्गको जक्सन हो । यहाँ पहाडी बस्ती बाक्लो छ । मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लामा जान कोहलपुर पुग्नै पर्छ । व्यावसायिक गतिविधि बढेका छन् । चौडा सडक, आकर्षक घर यहाँको विशेषता हो । कोहलपुर व्यवस्थित आवासीय सहर बनेको छ ।

रुपौडियादेखि कोहलपुरसम्म आठ लेनको सडक बनेको छ । पूर्वपश्चिम राजमार्ग कोहलपुर भएर गएको छ । कोहलपुर मध्यपश्चिमको जक्सन बनेको छ । एयरपोर्ट नेपालगन्ज र कोहलपुरको बीचभागमा छ । जहाजबाट यात्रा गर्नेहरू कोहलपुर आएर बस्न थालेका छन् । तुलनात्मक रूपमा नेपालगन्जभन्दा सितल भएकोले पनि कोहलपुरको महिमा ह्वात्तै बढेको हो । सहरको प्लानिङ गर्दा राजमार्गको छेउछाउमा घर बनाउन रोकियो । अहिले कोहलपुरमा सडक खुला र आकर्षक देखिन्छ ।

सहर विस्तार हुँदै जाँदा नेपालगन्ज र कोहलपुर जोडिन लागेको छ । नेपालगन्ज उपमहानरपालिका र कोहलपुर नगरपालिका बनेको छ । दुई सहर जोडेर महानगरको परिकल्पना गर्न थालिएको छ । खैर ! त्यो राजनीतिक बिषय पनि भएकाले त्यसका बारेमा चर्चा अहिले नगरौं । प्रशासनिकरुपमा एक नभए पनि भौगोलिकरुपमा नेपालगन्ज–कोहलपुर शहर जोडिसकेका छन् । कोहलपुर सदरमुकाम नेपालगन्ज पछि बाँकेमा दोस्रो ठूलो शहर त छदैछ पश्चिमकै ‘हब’ बन्ने दौडमा छ ।

बाँके वर्षौ अघिदेखि भारत र चीनमा आयात निर्यातको व्यवसायिक ट्रान्जिट क्षेत्र बनेकोे थियो । जिल्लामा पञ्चायतकालमा औद्योगिक क्षेत्र स्थापना भएर औद्योगिक उत्पादनले गति लिएपछि चामल, कथ्था मिल, सलाइ फेक्ट्री जस्ता उद्योगहरु सञ्चालनमा आए । जसबाट साबिक भेरी, कर्णाली, राप्ती, सेती र महाकाली अञ्चलका जिल्लाको आवश्यकता पूर्ति हुन्थ्यो । संघीयताले बाँके प्रशासनीक विभाजनमा ओझेलमा प¥यो । आर्थिक, बाणिज्य, पर्यटकीय, शैक्षिक र स्वास्थ्य हबका कारण जिल्लाको आर्थिक गतिविधि निरन्तर गतिशील हुनुले यसको गरिमा उच्च नै छ । त्यसमा कोहलपुर नगरपालिकाक्षेत्रको योगदान महत्वपूर्ण छ ।

कोहलपुर आर्थिक, बाणिज्य, कृषि, पर्यटकीय क्षेत्र, शैक्षिक र स्वास्थ्य केन्द्रका बन्दै छ । यहाँ भौतिक पूर्वाधारको आधार बनिसकेको छ । जसलाई समय सापेक्ष स्तरोन्नतीको खाँचो मात्र छ । कतिपय क्षेत्र ओझेलमा परेको वा प्राथमिकतामा नपरेको देखिन्छ । सो क्षेत्रलाई तदारुकताका साथ योजनाबाद्ध ढंगले अगाडि बढाएमा कोहलपुरलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।

२.१. उद्योग

केहलपुर औद्योगिक क्षेत्र हो । यहाँका ठूलठुला उद्योग पहिल्यैदेखि संचालनमा छन् । थप उद्योग संचालनको तयारीमा छन् ।यहाँका कतिपय औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । कोहलपुर नजिकै नौवस्ता औद्योगिक क्षेत्र बन्ने क्रममा छ ।

पहाडका जडिबुटी संकलन गरेर कोहलपुरमा प्रशोधन गरेर स्वदेश तथा विदेशमा बिक्री गर्न सकिन्छ । अहिले अधिकांश जडिबुटी लगायतका कच्चा पदार्थ संकलन गरेर कच्चा पदार्थकै रुपमा पैठारी भइरहेको छ । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल र घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समितिका अध्यक्ष हेमविक्रम जिसी एउटै स्वरमा राज्यले अनुदान, राहात वा छुट दिँदा स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरुलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्नुपर्ने बताउँछन् । औद्योगिक क्षेत्रमा विद्युतको अविच्छिन्न व्यवस्था गर्न फरक वितरण प्रणाली लागू गर्नुपर्छ । औद्योगिक क्षेत्रभित्र स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई कर, निश्चित अवधिसम्म भूमिको भाडा, पानी, विद्युत आदिको छुट गर्नुपर्नेमा जाृड दिन्छन् । नेपालगन्ज–कोहलपुर औद्योगिक कोरिडोर निर्माण गर्दा त्यसले अथाह सम्भावनाको ढोका खोल्छ ।

२.३. पर्यटन

कोहलपुरमा थुप्रै पर्यटकीय क्षेत्र छन् । पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो तर यसको उचित प्रचारप्रसार हुन सकेको छैन । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्न सकिन्छ । यो पर्यटकको ट्रान्जिट मात्रै नभई पर्यटकीयक्षेत्रकारुपमा समेत विकास भइरहेको बताउँछन् पर्यटन व्यवसायी निरज चलाउने र भागीराम ओली । ‘बाँके निकुञ्जको प्रचारप्रसार गर्ने हो भने कोहलपुरको पर्यटनक्षेत्रले ठूलो परिवर्तन गर्छ । राज्यका नीति निर्माताले त्यतातर्फ ध्यान दिन जरुरी छ ।’ दुबै जना भन्छन्–‘अर्को कुरा यहाँ हुँदै अन्यत्रका पर्यटकीयक्षेत्रमा पनि घुम्न जान सजिलो भएकाले यो प्रमुख ट्रान्जिट बन्छ ।’
भारतीय पर्यटकहरूलाई नेपालगन्ज र कोहलपुर हुँदै मानसरोबर जान सजिलो हुनेभएपछि तीर्थयात्रीलाई लक्षित गरी दर्जनौं सुविधा सम्पन्न होटल सञ्चालन भएका छन् । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाको रुपमा काम गर्नुपर्छ । तत्काल नेपालगन्ज–दिल्ली उडानको पहललाई सार्थक बनाउन सके यसले यहाँको पर्यटन विकासमा ठूलो योगदान दिनसक्छ ।

नेपालगन्ज विमानस्थलको गुरुयोजना कार्यान्वयन भइरहेकाले उत्साह थपेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको बाँकेमा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने हो भने बर्दिया राष्ट्रि«य निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको अन्य पर्यटकीय स्थलसँग बाँके पर्यटन द्वार बन्नसक्छ ।

२.५. शिक्षा क्षेत्र

बाँकेको दोस्रो ठुलो शहर कोहलपुरक्षेत्र शैक्षिक हब बन्ने दौडमा छ । त्यसको सम्भावना केलाउँदै यहाँकै उत्कृष्ट मध्येको गोरखा युनाइटेड स्कुलका अध्यक्ष केशर आले भन्छन्,–‘यहाँ शिक्षा क्षेत्रको प्रशस्त सम्भावना छ । तर धेरै कुरामा लगानी र स्पष्ट रोडम्याप तयार गर्नुपर्छ ।’ शैक्षिक हब भनेर मात्रै नहुने बताउँदै आले त्यसका लागि के–के आवश्यक पर्ने हो त्यसको बिस्तृत छलफल हुनुपर्नेमा जोड दिन्छन् । आले भन्छन्,–‘प्लस टुसम्म पढेपछि उच्च शिक्षाका लागि अन्यत्र जाने अवस्था हुँदासम्म त्यो शैक्षिक हब भएन । हो ! हामीले कोहलपुरमै उच्च शिक्षा पढ्ने वातावरण बनाउन कुन कुन संकाय जरुरी छ भनेर छलफल चलाउनुपर्छ ।’ त्यसो गर्न सकिए र सरकारले समेत नीजि स्कुल कलेजलाई संगसंगै लैजान सक्ने वातावारण बने कोहलपुर शैक्षिक हब बन्ने उनको भनाई छ । पछल्लिो समय अर्ब लगानीमा आधा दर्जन सुवधिा सम्पन्न नीजि विद्यालय कोहलपुरमा संचालनमा छन् । कोहलपुरमै उत्कृष्ट कलेज संचालन गरेर विदेशमा पढ्न जाने विद्यार्थीलाई रोक्ने खालका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्थानीय उद्योग, व्यापार र सेवालाई चाहिने जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम वा व्यवसायिक सीपमूलक तालिम सञ्चालनमा जोड दिनुपर्ने । समृद्ध बाँके निर्माण गर्ने क्रममा यहाँ अवस्थित शैक्षिक पूर्वाधारले मात्र सेवा प्रदान गर्न नसक्ने हुँदा यस क्षेत्रका अन्य पालिकाहरुलाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्छ ।

२.६.स्वास्थ्य क्षेत्र

बाहिरी जिल्लाबाट कोहलपुर आउने पर्ने अर्को कारण हो, स्वास्थ्योपचार । स्वास्थ्य सेवामा विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ कोहलपुर मेडिकल कलेजले । त्यहाँ कार्यरत चिकित्सक डा श्याम बिकका अनुसार, यहाँ अन्यत्र जिल्लाबाट उपचारका लागि कयौं बिरामीहरु आउँछन् । यो बाहेक अन्य नीजि स्रोतबाट चलेका अस्पताल पनि निर्माण भइ संचालनमा छन् । ‘अब कोहलपुरमै हरेक बिरामीको शल्यक्रिया हुने जस्ता उत्कृष्ट उपचार गर्ने गरी सेवा र पूर्वाधार थप्नुपर्छ । म निकट भविष्यमा त्यो सम्भावना देखिरहेको छु ।’– डा बिकले भने । कोहलपुर नगरपापालिकामा एक वटा मेडकिल कलेज, ३ वटा स्वास्थ्य चौकी, ३ वटा नीजि अस्पताल, १ आयुर्वेद औषधालयहरु रहेका छन् । हालै कोहलपुर नगरपालकिाबाट १५ शैय्याको एक कोभडि अस्पताल नर्मिाण भई सञ्चालनमा आएको छ ।

उद्योेग, वाणिज्य, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रको विकासमा कोहलपुर अघि बढ्दै छ । यी क्षेत्रको विकासमा व्यक्ति, संस्था, समाज र राज्यको उत्तरदायी भूमिका प्रमुख हुन्छ । व्यक्ति वा संस्थाले लगानीको वातावरण पाउनु पर्छ । त्यसका लागि राज्यले नीति, नियम र कानुनी व्यवस्था लगानीमैत्री हुनुपर्छ । नगरप्रमुख आचार्य त्यसका लागि पालिका कहिल्यै बाधक नबने बताउँदै भन्छन्,–‘कोहलपुरको समृद्धि हाम्रो मकसत हो । त्यसमा बाधक बन्दैनौ । प्रदेश र केन्द्रीय सरकारलाई पनि यहाँको विकासका लागि घच्चघच्याउँछौं ।’ सडक, विद्युत, पानीलगायतका दीगो पूर्वाधार निर्माणको सुनिश्चिता राज्यले गर्नुुपर्छ । सम्पूर्ण सञ्चालित उद्योेग प्रतिष्ठानहरु स्वदेशी कच्चा पदार्थ र स्वदेशी मैत्री बन्नुपर्छ । यसले उत्पादन प्रक्रियालाई आत्मनिर्भर बनाउँछ । व्यवसायिक प्रतिष्ठानहरु समाजप्रति उत्तरदायी हुनुपर्छ । अबको कोहलपुर निर्माणका लागि सर्वपक्षीय, सर्वदलीय, अन्तर सरकार (संघीय, प्रादेशिक र स्थानीय), व्यवसायिक प्रतिष्ठानको समन्वयात्मक भूमिका अनिवार्य हुन जरुरी छ ।

Nabintech