१७ बैशाख २०८१, सोमबार
आधारभूत तह नगर स्तरीय परीक्षाको नतिजा छानबिन गर्न समिति गठन 


आधारभूत तह कक्षा ८ को नगर स्तरीय परीक्षाको नतिजा छानबिन गर्न समिति गठन भएको छ । नतिजाको विषयलाई लिएर लिखत र मौखिक रुपमा उजुरीहरू आएपछि छानबिन समिति गठन गरिएको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए । उनले नगर शिक्षा शाखाका कर्मचारी र कतिपय विद्यालयहरू उपर मौखिक र लिखित उजुरी आएपछि कोहलपुर नगरपालिका वडा नं १२ का अध्यक्ष बिरेन्द्र कुमार शाहको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा सामुदायिक र संस्थागत विद्यालयका शिक्षक प्रतिनिधि, शिक्षक महासंघ प्रतिनिधि र नगर प्रहरी प्रमुख सदस्य सचिव रहने छन ।  ५ सदस्यीय छानबिन  समितिले एक हप्ता भित्र सत्य बाहिर ल्याउने छ ।

उनले कर्मचारी र अन्य कतै वाट गलत गरिएको भए कार्यवाही गरिने जानकारी दिए । श्रोतका अनुसार २ वटा सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालय उपर उजुरी परेको छ । सबै उजुरीउपर छानबिन गरि गलत भएको भए कार्यवाहीको दायरमा ल्याइने कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको भनाई छ । प्रमुख आचार्यले कपी जाँच लगायतका समग्र प्रक्रिया जाँच गरिने समेत बताए ।

छानबिन समिति लाई उजुरी उपर छानबिन गर्ने र आवश्यक परे विज्ञहरू सँग थप सहयोग लिन कार्यादेश बनाइएको छ । छानबिन समितका संयोजक बिरेन्द्र शाहले छानबिन समितिले काम अगाडि बढाई सकेको जानकारी दिदै ७ दिन भित्र प्रतिवेदन बुझाउने जानकारी दिए ।

शिक्षा क्षेत्र सुधारका लागी विद्यालयको भौतिक पूर्वाधार सुधार लगायतका उल्लेखनीय कामहरू भई रहेको बताउँदै मेयर आचार्यले परीक्षा प्रणाली सुधारका काम अगाडि बढाइएको बताए । उनले कसैको दवाव र प्रभावमा नपरी  शिक्षा क्षेत्र सुधारका काम अगाडि बढाउने मेयर आचार्यको भनाई छ । 

Nabintech