१७ बैशाख २०८१, सोमबार
मुख्यमन्त्री महराको पहिलो निर्णय :भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन


लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरेका छन् । शपथ ग्रहण पश्चात मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्टाचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवं विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले २ महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने छ । यस्तै पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताए ।

मुख्यमन्त्री महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी प्रदेशको पाँचौँ मुख्यमन्त्रीको रूपमा नियुक्त भएका महरासँगै अन्य तीन जना मन्त्रीले पनि आइतबार शपथ ग्रहण गरेका थिए । नव नियुक्त मन्त्रीको जिम्मेवारी चाँडै तोकिने र एक महिनाभित्र सरकारलाई पूर्णता दिनेगरी आफूले पहल लिएको मुख्यमन्त्री महराले बताए ।

Nabintech