२२ बैशाख २०८१, शनिबार
समाचारका विषयमा बाँके प्रहरी प्रमुख बोहराले पत्रकार भण्डारी लाई दिएको धम्कीप्रति ध्यानाकर्षण 


सदभाव दैनिक एवं सेतोखरीमा प्रकाशित समाचारका विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका उक्त पत्रिका र अनलाइनका सम्पादक पत्रकार दामोदर भण्डारीलाई समाचार रोक्न दिएको धम्कीपूर्ण दबावका विषयमा बिहीवार नेपालगन्जमा पत्रकार सम्बद्ध सङ्गठनहरूबीच आकस्मिक बैठक बसेको छ ।

जिल्ला प्रहरी प्रमुख बोहराले भण्डारीलाई समाचार रोक्न दिएको अनुचित धम्कीपूर्ण दवाव प्रति गम्भीर चासो र चिन्ता प्रकट गरेको गर्दै समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने पदमा रहेको व्यक्तिले प्रदर्शन गरेको व्यवहार संविधान प्रदत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको ठहर गरेको छ । आकस्मिक बैठकले पछिल्ला दिनमा सुरक्षा निकायबाट एकपछि अर्को गरी बाँकेमा पत्रकार एवं प्रेस स्वतन्त्रता माथि नियोजित तरिकाबाट प्रहार गर्ने गरी भइरहेका घटना रोक्न संयुक्त रुपमा प्रतिवाद गर्ने र निष्पक्ष एवं भयरहित तरिकाले पत्रकारिता गर्ने वातावरण निर्माणका लागि थप छलफल गरी धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ ।

छलफलमा महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष शुक्रऋणी चौलागाई , पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्व अध्यक्ष निरज गौतम, पूर्व अध्यक्ष रुद्र सुवेदी ,प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य सहित अग्रज पत्रकार एवं महासङ्घका पदाधिकारी एवं सदस्यहरू सहभागि थिए । बैठकले बिहीवारको छलफलका आधारमा थप धारणा सार्वजनिक गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी प्रमुख बोहराले अवैध असुली गर्ने गरेको दाबी सहित सेतोखरी र सदभाव दैनिकमा प्रकाशित समाचारको विषय लाई लिएर प्रहरी प्रमुखले प्रकाशित समाचार हटाउन र आगामी दिनमा आफू विरुद्ध समाचार नलेख्न धम्कीपूर्ण चेतावनी दिएको महासंघ अध्यक्ष समेत रहेका पत्रकार भण्डारीले जानकारी दिए ।

Nabintech